काठमाडौं, कात्तिक ६ । त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले यूएईमाथि सानदार जीत निकालेको छ । नेपालले आज भएको खेलमा युएईलाई ५ विकेटले पराजित गरेको हो ।
प्रतियोगितामा नेपालको यो लगातार चौथो जीत हो । नेपालले यूएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य ४ बल अगावै पछ्यायो । दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै मात्र १५ बलमा ४० रन बनाउँदै नेपाललाई जीतसम्म डोर्याए । ऐरीले ६ छक्का र १ चौका प्रहार गरे ।
नेपालको सुरुवात भने खराब थियो । तेस्रो ओभरमा नै नेपालले ११ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । पहिलो ओभरमा नै कुशल भुर्तेल मात्र १ रन बनाएर आउट भने लगत्तै अर्को ओभरमा सोमपाल कामी पनि २ रन बनाएर आउट भए ।
त्यसैगरी कुशल मल्ल शून्य रनमा आउट भएका थिए । त्यसपछि कप्तान रोहित पौडेलले ओपनर आसिफ शेखसँग मिलेर नेपालको पाली सम्हालेका थिए । शेखले ५० बलमा ६२ रन बनाए । उनले यसक्रममा ६ चौका र २ छक्का हिर्काए । त्यस्तै कप्तान पौडेलले ४२ बलमा ४७ रनको योगदान दिए । उनले चार चौका र १ छक्का प्रहार गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले भृतया अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । यूएईका लागि विस्फोट ब्याटिङ गरेका हमिदले मात्र १९ बलमा ४५ रन बनाए । उनले २ चौका र ५ छक्का हिर्काए । अरविन्दले पनि ५१ बलमा ४५ रन बनाए । उनले यस क्रममा चार चौका हिर्काए ।
त्यस्तै, आसिफ खानले १८ तथा खालिद साहले १२ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र अविनाष बोहराले २–२ विकेट लिए भने करन केसी र गुल्सन झाले १–१ विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्