जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार १६:४७

रोल्पा पहिरो अपडेट : ६ जना कै शव फेला


रोल्पा, भदौ २७

थबाङ गाँउपालिका–२ छेर्लोबाङस्थित सहिदमार्गअन्तर्गत घर्तीगाउ–थबाङ खण्डमा पहिरो खस्दा मृत्यु भएका ६ जनाको शव निकालिएको छ । उनीहरु बसेको घरमाथिबाट पहिरो खसेपछि सबैको मृत्यु भएको थियो ।

छेर्लोबाङस्थित २८ वर्षकी शीरकुमारी र उनका छोरा ४ वर्षका असल लगायत पुरिएका थिए । प्रहरीले उद्धारका क्रममा शुक्रबार बिहान आमा–छोराको शव फेला पारेको थियो भने अन्य ४ को शव दिउँसो निकालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनु भयो ।

पुरिएको घरको तल्लो तलामा बसेका वर्ष ३६ का जय बुढामगर, पत्नी वर्ष ४० की मूलज्योति बुढामगर, छोरीहरु वर्ष १० की गृष्मा र डेढ वर्षकी अर्की छोरीको पनि मृत्यु भएको छ । यसैबीच घटनास्थलमा पानी परिरहेको र यातायातका साधन पुग्न नसक्ने भएपछि शव पोस्टमार्टम गर्न चिकित्सक गाउँमै पठाउने निर्णय भएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।