काठमाडौं, कात्तिक ८ । सत्ता र शक्तिको पहुँचमा रहेका कर्मचारीहरु सधैं सिंहदबार आसपासका कार्यालयमा नै किन रहन्छन ? पुहँचविहीन कर्मचारी भने दुर्गम जिल्लामा नै जीवन बिताउन किन बाध्य छन ? यो प्रश्न सवैजसो कर्मचारीको मनमा छ । तर कसैले पनि जवाफ पाउन सकिरहेका छैनन ।
निजामती सेवा नियमावालीमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ तर पहुँचवाला कर्मचारीलाई भने उक्त नियमले कहिल्यै छुनसम्म सकेको छैन । पहुँचवाला कर्मचारी भने १० देखि १७ वर्षसम्म पनि एउटै कार्यालयमा हालीमुहाली गरिरहेका छन ।
राष्ट्रिय किताबखाना (निजामती) का अनुसार १० वर्षभन्दा बढी एउटै कार्यालमा बस्ने कर्मचारीमा प्रशासन समुह, लेखा समुह, इन्जिनियरिङ समुह, कृषि, वन, योजना तथा तथ्याङ्क, विविध, न्याय सेवा, शिक्षा, स्वास्थ्यलगायतका सेवा समुहका कर्मचारी छन ।
किताबखानाका अनुसार केन्द्रीय तथ्याङ्क विभाग, महालेखा परीक्षकको कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला हुलाक कार्यालय खोटाङ, भूमि सुधार कार्यालय बर्दिया, सर्वोच्च अदालत, सहरी विकास तथा भवन निर्माण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कृषि तथा सहकारी मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, जिल्ला अदालत सुर्खेतलगायतका तीन दर्जनभन्दा बढी कार्यालयमा १० वर्षभन्दा बढी समय सरुवा नभई बस्ने कर्मचारी भेटिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने कतिपय कार्यालयमा कर्मचारी सरुवा भएर आउन र जानका लागि दबाब पर्यो भने मात्र दुई वर्षपछि कर्मचारीलाई सरुवा गर्ने र दबाब नआएको अवस्थामा जति समय पनि बस्न मिल्ने तर्क गर्छ । मन्त्रालयले तीन महिनाअघि सरुवा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनमा कर्मचारीको सरुवाको तत्कालीन र दीर्घकालीन सुधारबारे उल्लेख छ ।
अविछिन्न रूपमा तीन वर्ष वा त्योभन्दा बढी अवधि काठमाडौँ उपत्यकाभित्रका निकायमा कार्यरत कर्मचारीका लागि ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्ने, राजपत्र अनङ्कित कर्मचारीको हकमा सुरु नियुक्ति भएको पदमा दुई वर्षसम्म सम्बन्धित प्रदेश क्षेत्रभित्र मात्र सरुवा हुने गरी व्यवस्थापन गर्ने गरी प्रतिवेदनमा उल्लेख गरिएको छ । तर व्यवहारमा भने कार्यान्वयन भएको छैन ।
सरकारले स्वचालित सरुवा प्रणाली बनाई निश्चित समय दुर्गम क्षेत्रका कार्यालयमा गएर सेवा गर्नैपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन नगरेसम्म पहुँचवाला कर्मचारी सधैँ सुगममा नै घुमिरहने स्वयं कर्मचारीहरु नै बताउँछन ।
प्रतिक्रिया दिनुहोस्