जनता टाइम्स

१४ कार्तिक २०८०, मंगलवार १५:२१

इजरायल–हमास युद्ध : अमेरिकाले पनि अस्वीकार गर्यो युद्धविरामको आह्वान


काठमाडौं, १४ कात्तिक । इजरायल–हमाासबीच युद्ध विरामको आह्वानलाई अमेरिकाले पनि अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको आह्वानलाई अस्वीकार गरेका बेला अमेरिकाले पनि अस्वीकार गर्दै इजरायललाई साथ दिएको हो । तीन साताअघि ७ अक्टोबरमा इजरायलमाथि प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण गरेपछि अहिले दुवैतर्फबाट बमबारी भइरहेका छन् ।

यही बेला अमेरिकाले इजरायल र हमासबीच युद्धविरामको लागि विश्वव्यापी आह्वानलाई अस्वीकार गरेको हो । अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले युद्धविरामको लागि विश्वव्यापी आह्वानलाई अस्वीकार गरेका हुन् । हाल, गाजाका २.२ मिलियन बासिन्दाहरूको लागि खाना, पानी, इन्धन र औषधि चरम अभाव भएको छ ।

तर, इजरायलले पनि हमास ध्वस्त नभएसम्म युद्धविराम नहुने घोषणा गरिसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भन्नुभयो,‘युद्धविरामको आह्वान भनेको इजरायललाई हमासलाई आत्मसमर्पण गर्न, आतंकवादलाई आत्मसमर्पण गर्नको लागि आह्वान हो । यो हुने छैन ।’

तर, एक पत्रकार सम्मेलनमा अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले इजिप्ट हुँदै गाजामा थप सहायता ट्रकहरू प्रवेश गर्न सक्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो कि अमेरिकाले इजरायली सरकारसँग सीमा पार गर्ने ट्रकहरूको संख्या हरेक दिन करिब १०० पुर्याउने बारे कुरा गरेको थियो । ‘आइतबार करिब ४५ ट्रक इजिप्टको रफाह क्रसिङ हुँदै गाजा प्रवेश गरेका थिए’ किर्बीले भन्नुभयो ।