जनता टाइम्स

१५ कार्तिक २०८०, बुधबार ११:०३

एनआरएनएको कार्यालय कब्जा गर्न खोज्ने आरके समुहबिरुद्ध तीनवटा अभियोगमा कार्वाही माग्दै प्रहरीमा जाहेरी दर्ता


काठमाडौं, कात्तिक १५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष डा.बद्री केसीले आफूसँग चुनावमा पराजित भएका आरके शर्मासहितलाई हदैसम्मको कारवाही माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराउनु भएको छ ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गमा आज दर्ता भएको जाहेरीमा आफूसँग पराजित उपविजेता राजेन्द्रकुमार (आरके) शर्मा, बुद्धिसागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुंगाना र ओम शर्मालगायतमाथि तीन वटा अभियोगमा कारवाहीको माग गर्नुभएको हो ।

पराजित भएपछि पनि केन्द्रीय कार्यालय कब्जा गर्ने उद्देश्यले माओवादीका प्रवास ब्युरो इन्चार्ज ओम शर्मासहित वाइसिएलको टोली लिएर आएका शर्माको समूहले कर्मचारीमाथि समेत आक्रमण गरेको अध्यक्ष केसीले जाहेरीमा उल्लेख गर्नुभएको छ ।

दर्ता भएको जाहेरीमा जीउ ज्यान र सम्पत्तिको शान्ति सुरक्षा, हुलदंगा गर्ने व्यक्तिहरुमाथि अभद्र व्यवहारको कसूरमा कारवाही र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसूरमा कारवाहीको माग गरिएको छ ।

यस्तै संघको कार्यालय र राष्ट्र बैंकको समेत सिसिटिभी क्यामेराको फुटेज हेरेर कानूनी कारवाहीको माग गरिएको छ । उनीहरुबाट फेरि पनि कार्यालयमा तोडफोड र सम्पत्तिको हानीनोक्सानी गर्ने सम्भावना रहेकाले कारवाही माग गरिएको केसीले जाहेरीमा उल्लेख गर्नुभएको छ । उता आरके शर्माले पनि प्रहरी बृत्त महाराजगञ्जमा जाहेरी दिनुभएको छ ।