जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार ०९:३३

नयाँ पिँढीले किन देखेन नेपालमा भविष्य ?


अबशर प्राप्त नभएको युवामात्र पलायन भएको होइन । प्राध्यापक, डाक्टर, वकिल, ब्यापारी, देश निर्माण गर्ने नेता स्वयं बिदेसिएका छन । हाम्रा निति निर्माताहरुको ध्यान आकृष्ट कहिले होला ? राज्य संचालन गर्ने नेता, पार्टी र सरकार कहिले गम्भीर होलान ? देउसी भैलो जस्तो सधै समृद्धि र सुखी नेपाल भट्ट्याएर र योजनाका पुस्तिकामा पष्ट्याएर नेपाल निर्माण हुँदैन 

भोजराज ढकाल

हिजोको समयमा बिदेसिन आजको जस्तो पर्याप्त एक्सेस थिएन । मातृभूमिलाई सराप्दै हाम्रो पिँढीले बिदेशी भूमिमा भविष्य देख्न परेन । समाज आजको जस्तो विकसित पनि थिएन । हामीले हात उठाएनौ । आफ्नै भूमिमा जीवन समर्पण गर्यो, गरिदै पनि छ । दुःखजिलो हुदैछ । जन्म दिने आमा र मातृभूमि छाडेर बिदेसिन मनले मानेन । यदाकदा कोही कोही सप्पन्न मुलुकमा जान्थे । लक्ष्य पुरा हुने बित्तिकै नेपाल फर्किनुपर्छ भन्ने बुझाइ थियो ।

समयले धेरै कोल्टे फेर्यो । बिश्वब्यापीकरणको प्रभावले ससारलाई स्मल भिलेजमा रुपान्तरण गर्यो । थ्री डी (डर्टी, डिफिकल्ट, डेन्जरस) देशहरुबाट एकाएक सप्पन्न मुलुकमा एक्सेस हुन पुग्यो । क्षमतावान मात्र होइन अति सामान्य मानिसहरु समेत अमेरिका, बेलायत र अष्ट्रेलियाको सपना देख्न थाले । आज दिनहु २ हजारको संख्यामा युवाहरु बिदेसिन थालेको तथ्यांक सार्वजनिक भइरहेको छ । नेपाल रित्तो हुदैछ भन्ने समाचार अखबारको मुख्य पृष्ठमा छापिन्छ ।

बिदेसिने हावाको झोका ठुलो छ । कसैलाई सम्झाउन पनि सकिदैन । आजको पिँढीले हात उठायो । बिदेसिनुको विकल्प केहि देखेन । दुई खुट्टामा नउभिउन्जेल मातृभूमि नेपाल त्यसपछि जन्मभुमि र जन्म दिने अभिभावक चटक्कै छाडेर परदेश गन्तव्य भयो । नयाँ पिँढीले किन नेपालमा भविष्य देखेन ? आम चासोको बिषय हुनुपर्छ । हिजो र आजको समाजको चरित्र फरक छ । हिजोको पिँढी परम्परागत कृषि पेशाबाट हुर्किएको हो । समाज बिपन्न थियो । यातायात र भौतिक पुर्बाधार पर्याप्त थिएन । शैक्षिक सस्थाहरु धेरै टाढा हुन्थे ।

अभिभावकहरुले कृषि श्रोतबाट आफ्ना सन्तानलाई पढाए । ठूलो बनाए । गाइ, भैसी, बाख्रा चराउदै उच्च शिक्षा हासिल गरे । घास काट्नु, कृषि पेशामा अभिभावकलाई सहयोग गर्नु दिनचर्या थियो । दुःख सकट देखेको हिजोको पुस्ता संघर्ष गर्दै देशलाई सेवा गर्दैछ । मिठो मसिनो खाएको छ । आजको पिँढीलाइ क्षमतावान बनाउन पनि सफल भयो ।

आजको पिँढी क्षमतावान पनि छ । २१ औं शताब्दीको प्रतिनिधित्व गर्न सबल छ । भौतिक र सामाजिक पुर्बाधारको बिकास पर्याप्त छ । हिजो दुई छाक खान संघर्ष थियो, धौधौ थियो । आजको समस्या त्यो होइन । आजको पिँढीले भोकै बस्नु परेको छैन । तर नेपालमा भविष्य देख्दैन । हात उठाउछ । दुःखलाई एबजर्ब गर्ने ल्याकत छैन । एअरपोर्टमा मातृभूमिलाई गाली गर्दै बिदेसिन लावालस्कर छ । नेपाल बस्न अयोग्य नै हो ? नयाँ पिढीको सोच र बिदेसिने प्रवृत्ति रोक्न उपयुक्त निति तर्जुमा गर्न असमर्थ भए नेपालको भविष्य के होला ।

प्रतिभा मात्र होइन, युवा पलायन कसरी न्यून गर्न सकिन्छ भन्ने उपायहरुको खोजी गर्न आलेख मार्फत जमर्को गरिएको छ । पहिलो सम्पन्न मुलुकले निति परिवर्तन गरेमा युवा पलायनमा कटौती हुन्छ । कुनै समय बेलायतले असंख्य मात्रामा नेपाली बिद्यार्थी लाने निति लियो । आफ्नो अर्थतन्त्रमा प्रतिकुल प्रभाव हुने बित्तिकै एकाएक नितिमा कडाइ गर्यो । बेलायतले आफ्नो १० वर्षको भुक्तानी सन्तुलन सच्च्याउन सफल भएको अर्थशास्त्रीहरुको बिश्लेशन छ ।

क्रमशः अष्ट्रेलियाले निति कसिलो बनाउदै छ । अमेरिकाले नक्कल गर्दैछ । युरोपेली देशहरु आफै बेरोजगारीको सामना गर्दैछन् । सम्पन्न मुलुकको निति कसिलो हुने बित्तिकै युवा पलायनमा कटौती हुन्छ । सप्पन्न मुलुकलाई आवश्यक पर्ने म्यानुअल श्रम आबश्यक परेकोले निति खुकुलो बनाइएको हो । नेपाली युवा क्षमतावान भएर बिदेसिने अवसर प्राप्त भएको मात्र होइन । सम्पन्न मुलुकको आबश्यकताले नेपाली युवाले बिदेसिने अबसर प्राप्त गरेका हुन ।

दोस्रो नेपाल सरकारको युवा पलायन रोक्ने नीति उपयुक्त भएमा युवा पलायनको मात्रा क्रमशः न्यून हुदै जान्छ । सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनुहुदैन । क्षमता र योग्यता अनुसार पदोन्नति हुनुपर्छ । राइट मेन राइट प्लेसको निति तर्जुमा गर्न सक्नुपर्छ । युवा मैत्री वातावरण सृजना गरिदिनु राज्यको कर्तव्य हो ।

सरकारको काम उपयुक्त वातावरण सृजना गरिदिने हो । बिदेशमा सिकेको सीप र ज्ञानलाई स्वदेशमै प्रयोग गर्ने अवस्था हुनुपर्छ । सबै क्षेत्रमा प्रतिस्पर्धाको नीति तर्जुमा गर्नुपर्छ । शान्ति सुरक्षाको पुर्ण सुनिश्चितता हुनुपर्छ । सामाजिक र भौतिक पुर्बाधारको गुणात्मक बिकास राज्यबाट हुनुपर्छ । व्यावसायिक शिक्षामा जोड दिनुपर्छ । राज्यको पुनर्संरचना शिक्षा क्षेत्रबाट गरिनु पर्छ । शिक्षा, स्वास्थ र कानुनी क्षेत्रमा राज्यले हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन हुनुपर्छ ।

तेस्रो कारण बिश्व असुरक्षित र भयावह हुदैछ । रसीया–युक्रेन, इजरायल–हमास, अमेरिका– रसीया, नेटो र चीन रसीयाहरु बीचको दिपक्षीय र बहुपक्षीय द्वन्द्व तत्कालै समाधान हुने छाट देखिदैन । सम्पन्न मुलुकहरु बीचको शक्ति टकराबले आफ्नै मातृभूमि समृद्धि गर्नु अन्तिम ठोस विकल्प र समाधान हो भन्ने बुझाइले युवा पलायन रोक्न मद्दत गर्दछ । नमरी स्वर्ग देखिदैन भनेझैं आजको पिढी ठक्कर नखाइ प्रतिभा पलायन रोकिने सम्भावना देखिदैन ।

नेपाली युवाको वैदेशिक आकर्षण किन ? नेपाली युवाले सम्पन्न मुलुकमा प्राप्त गर्ने खुसी के हो । बस्तुगत रूपमा भौतिक र अभौतिक खुसी मापन गर्न कठिन होला । नेपालमा करेसावारी पनि नदेखेको युवा बिदेशी भूमिमा सम्पूर्ण जीवन समर्पण गर्न तत्पर हुन्छ किन ? श्रमको मुल्य उच्च भएर हो । सुरक्षाको प्रत्याभूति भएर हो । बिदेसिएका युवाहरूले सामाजिक संजालमा सम्पन्न मुलुकको भौतिक पुर्बाधार, समुन्द्र तटमा खिचिएको तस्बिर पोष्ट्याएको देखिन्छ तर कामका बारेमा कसैले केही उल्लेख गर्दैनन । इज्जत र मान प्रतिष्ठामा वृद्धि भएर हो ? बिदेसिएको दिनदेखि परिवार, आफन्त, नातेदार, जन्मभूमि सबै गुमाउछन । ऊ सुखदुःखको साझेदार हुन सक्तैन । तर पनि आँखा रसाउदै भारी मन लिएर एअरपोर्टबाट बिदा हुन्छ ।

हिजोका हाम्रा सपना फरक थिए । आशिर्वादनै फरक हुन्थे । बच्चा जन्मिदा डाक्टर, प्राध्यापक, वकिल भएस भनेर आशिर्वाद दिने समय थियो । आज यत्रतत्र सर्बत्र एयरपोर्टमा लावालस्करका ताती नियन्त्रण गर्न सरकार अशक्त भएको देखिन्छ । अबशर प्राप्त नभएको युवामात्र पलायन भएको होइन । प्राध्यापक, डाक्टर, वकिल, ब्यापारी, देश निर्माण गर्ने नेता स्वयं बिदेसिएका छन ।

हाम्रा निति निर्माताहरुको ध्यान आकृष्ट कहिले होला ? राज्य संचालन गर्ने नेता, पार्टी र सरकार कहिले गम्भीर होलान ? देउसी भैलो जस्तो सधै समृद्धि र सुखी नेपाल भट्ट्याएर र योजनाका पुस्तिकामा पष्ट्याएर नेपाल निर्माण हुँदैन । यस्का लागि ठोश खाका चाहिन्छ ।