काठमाडौं, भदौ २५ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन शाह र उनको सचिवालयले मुलुकमा हुकुमी शासन चलाइरहेको खुलासा गर्नुभएको छ ।
हुकुमी शासनको केन्द्र प्रमुख सल्लाहकार कुमार वेनको निवास ललितपुरको ज्वागल बनेको भन्दै सांसद सिंहले बालेन सरकारको कार्यशैलीप्रति आक्रोश पनि पोख्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सत्तारुढ सांसद सिंहले प्रधानमन्त्री शाह र सचिवालयले हुकुमी शैलीमा शासन चलाइरहेको र जनतालाई पीडा दिइरहेको बताउनु भयो ।
सांसद सिंहले भन्नुभयो, ‘सरकारको केन्द्र ज्वागल बनेको छ, हुकुमी शासन चलिरहेको छ ।’ सिंहले सरकारले संबिधानभन्दा बाहिर गएर अदृष्य शासन गरिरहँदा चुपचाप बस्नसक्ने अवस्था अव नरहेको पनि बताउनु भयो ।
‘हाम्रो संबिधान र संसदीय व्यवस्थामा प्रधानमन्त्री शासन व्यवस्था छ, तर प्रधानमन्त्री शासन व्यवस्था सल्लाहकार शासन व्यवस्थामा परिवर्तन भएको छ । संविधानको कुन दफा र कुन ऐनमा यो व्यवस्था छ मैले बुझ्न सकेको छैन। सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ तर सरकारको केन्द्र त ज्वागल बनेको छ, हुकुमी शासन चलिरहेको छ,’ सांसद सिंहले भन्नुभयो ।
ललितपुरको ज्वागल प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको निवास हो । सोही घरमा मन्त्रीहरूको लाइन लाग्ने गरेको छ भने मध्यरातसम्म सुरक्षा निकायका प्रमुखहरूलाई पनि वेनकै घरमा राखेर आदेश दिने गरिएको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ ।
सिंहले सम्पत्ति शुद्धीकरणको महानिर्देशकलाई बोलाएर पेस्तोल भिराउँदै दुई घन्टाभित्र रेड कर्नर नोटिस जारी गर भनेर हुकुमी आदेश दिइएको घटना पनि सदनमा राख्नुभयो ।
‘म त्यो घटनाको पनि चर्चा गर्न चाहन्न, कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ। गौरीकुमारी यादवले रातमा प्रहरी परिचालन गरेको थियो, त्यही दिनमा राजीनामा दिनुपर्थ्यो। प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीका अधिकार हुन्छ जतिबेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्नुहुन्छ उहाँले चित्त बुझेन भने।सबै अधिकार प्रधानमन्त्रीमा हुन्छ। तर प्रधानमन्त्री वा सचिवालयले मन्त्रीलाई पक्राउ गर्न पठाउँछन,’ सिंहको भनाई थियो ।

सांसद सिंहले उद्योग मन्त्रीबाट आजै राजीनामा दिनुभएकी गौरीकुमारी यादवको बिषय उठाउँदै यो भनाई राख्नुभएको हो । सिंहका अनुसार उद्योगमन्त्री यादवको राजीनामा नभएर प्रधानमन्त्री बालेनको सचिवालयबाट भएको बर्खास्त हो ।
‘गौरीकुमारी यादवले त्यो दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो। प्रधानमन्त्रीले जतिबेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्छन् चित्त बुझेन भने। तर प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई पक्राउ गर्न या सचिवालयले पठाउँछन्। यो सचिवालयको केही साथीहरूको कुरा सुन्दा म झस्कन्छु कि म कुन देशको सांसद हुँ,’ सिंहले भन्नुभयो ।
सिंहले सरकार संविधानअनुसार चल्दै नचलेको दर्जनौं प्रमाण सुनाउनु भयो । ‘हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ। चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ। सरकारले गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको ,’ सिंहको भनाई थियो ।














प्रतिक्रिया दिनुहोस्