जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार १३:०५

सबै प्रदेशमा एउटा\एउटा मुख्य हवाई केन्द्र बनाउने पर्यटनमन्त्रीको घोषणा


अत्तरिया, भदौ २८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले छिमेकी मुलुक भारतसहितका देशमा पर्यटकीय गन्तब्यको प्रचारप्रसार गरी भ्रमण वर्षमा बाह्य पर्यटक नेपालमा भित्र्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । मन्त्री भट्टराईले हवाई सेवालाई प्रभावकारी बनाउन सबै प्रदेशमा एउटा\एउटा मुख्य हवाई केन्द्र बनाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले भ्रमण वर्षलाई लक्षित गरी सबै प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा समिति गठन गरी काम अघि बढिरहेको जानकारी गराउनुभयो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बन्द रहेका विमानस्थल सञ्चालनका लागि प्राविधिक टोलीले अध्ययन गरी पछिल्लो अवस्थाबारे जानकारी दिन निर्देशन दिइसकिएको उहाँले बताउनुभयो ।

उहाँले सुदूरपश्चिममा पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना मन्त्रालयमा पेश गर्न सरोकारवालालाई आग्रह गर्नुभयो । यसैबीच टीकापुर नगरपालिका– ७ ढुङ्गाना टोलमा आजदेखि शुरु हुने डल्फिन महोत्सवको उहाँले उद्घाटन गर्नुहुने बताइएको छ ।