जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार १३:१३

माछापुच्छ्रे बैंकको नाफा बढ्यो, गत वर्षभन्दा २० प्रतिशतले वृद्धि


काठमाडौं, कात्तिक १७ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकले खुद नाफा २०.१८ प्रतिशत बढेर ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा सो बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशत घटेर १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अबए ४७ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेर ३० करोड २५ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेर १ अर्ब ८० करोड २२ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेर ७८ करोड ३५ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ, जगेडा कोष १५.६७ प्रतिशत घटेर ४ अर्ब ९७ करोड ७ लाख रुपैयाँ, निक्षेप संकलन ३.४५ प्रतिशत घटेर १ खर्ब ४८ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ३.४४ प्रतिशत बढेर १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १३ पैसा बढेर १८ रुपैयाँ ६६ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर वितरण गरी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.४५ प्रतिशत घटेको छ भने कर्जा ३.४४ प्रतिशत बढेको छ ।