अन्जनीकुमार अधिकारी/गाईघाट। उदयपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जिल्ला भित्र सार्वजनिक स्थलमा हुने धुम्रपानलाइ निषेध गर्ने बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सडक दुर्घटना न्यूनीकरणका लागि बृहत अन्तरक्रियात्मक कार्यक्रमलाइ सम्बोधन गर्दै प्रहरी उपरीक्षक रमेश थापाले सार्वजनिक स्थानमा हुने धुम्रपान सेवनलाइ कानुनसम्मत निषेध गर्ने बताउनु भएको हो ।
उदयपुर प्रहरी प्रमुख थापाले बिधालय हाता ओरपर कम्तिमा दुई सय मिटर भित्र हुने मदिरा बेचबिखनमा समेत प्रतिबन्ध लगाउने तयारी उदयपुर प्रहरीको रहेको समेत सोही कार्यक्रममा अवगत गराउनु भएको हो ।
नेपाल सरकारले २०६८ सालमा नै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन र नियमावली ल्याइसकेको छ । उक्त ऐन अनुसार सार्वजनिकस्थलको एक सय मिटर दूरी वरपर चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, खैनी, गुट्खाको प्रयोग र बिक्री वितरणमा रोक लगाएको छ ।
ऐनको उपदफा ४ मा ‘कसैले पनि फुटकर रूपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने,’उल्लेख छ । तर, विडम्बना हाल अस्पतालका गेट, पार्कलगायत सार्वजनिक स्थानमै चुरोटलगायत सुर्तीजन्य पदार्थ बेच्न राखिएका पाइन्छन जसलाई उदयपुर प्रहरीले नियमन गर्ने तयारी गरेको हो ।
नेपाल सरकारले ऐन, नियमावली मात्र होइन्, सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ समेत जारी गरिसकेको छ । तर, ऐन, नियमावली र निर्देशिकासमेत जारी भइसकेको अवस्थामा यसको कार्यान्वयन हुन भने सकेको छैन ।
सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउनुपरेको छ। क्यान्सर रोग लाग्नुको मुख्य कारण सुर्तीजन्य वस्तुको प्रयोग भएको र जम्मा मृत्युको १३ प्रतिशत क्यान्सरकै कारण हुने गरेको बताइएको छ।
उदयपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसंगै एसपी थापाले महत्वपूर्ण कार्यको सुरुवात गरेका छन् । एसपी थापाको कमाण्डले लागुऔषध न्यूनीकरण, सडक दुर्घटना न्यूनीकरण, घरेलु हिँसा लगायतका क्षेत्रमा उपलब्धी मूलक कार्यको सुरुवात समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्