जनता टाइम्स

१९ कार्तिक २०८०, आईतवार १३:२०

गुल्शन झा र रोहित पौडेलको अर्धशतकमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य


काठमाडौं, कात्तिक १९ । गुल्शन झाको आक्रामक ब्याटिङ र कप्तान रोहित पौडेलको जिम्मेवारीपूर्ण अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा ओमानलाई १ सय ८५ रनको लक्ष्य दिन सफल भएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णयमा गुल्शनले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १ सय ८४ रन बनाएको हो । नेपालका गुल्शन झाले ५४ र कप्तान रोहित पौडेलले ५२ रन बनाए । ६० रनमा ४ विकेट गुमाएको अवस्थामा रोहित र गुल्शनबीच ७८ रनको साझेदारी भएको थियो ।

गुल्शन झा २५ बलमा चार छक्का र ५ चौकासहित ५४ रन बनाएर आउट भए । रोहितले ३७ बलमा २ छक्का र ५ चौका हिर्काए । नेपालले अन्तिम ओभरमा २४ रन जोडेको थियो । नेपालका कुशल भुर्तेल ३१, सन्दीप जोरा १० रन बनाएर आउट भए । करन केसीले ६ बलमा २ छक्का र एक चौकासहित २० रनमा अविजित रहे ।

यस्तै आसिफ शेखले ६ र कुशल मल्लले ३ रनमात्र जोड्न सके । विवेक यादबले १ रन मात्र बनाए । ओमानका बिलाल खानले ३ विकेट लिए । अकिब इल्यासले पनि २ विकेट हात पारे । नेपालले अन्तिम १० ओभरमा एक सय २४ रन जोड्यो भने अन्तिम ५ ओभरमा मात्र ७४ रन थप्यो ।