जनता टाइम्स

२१ कार्तिक २०८०, मंगलवार १३:५५

एमालेको पूर्व–पश्चिम जागरण अभियान : मध्यपहाडी पुष्पलाल लोकमार्गको अवलोकन कार्य पूरा गरी राजधानी फर्कियो दुवै टोली


काठमाडौं, कात्तिक २१ । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको अवलोकन कार्य सम्पन्न गरेको छ । पार्टीले सञ्चालन गर्न लागेको मध्यपहाडी पुष्पलाल लोकमार्ग विशेष जागरण अभियानको तयारी र व्यवस्थापनको गृहकार्यका लागि अवलोकन कार्य सम्पन्न गरेको हो ।

एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल नेतृत्वका दुई टोलीले पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि सुदूरपश्चिमको झुलाघाट (बैतडी) सम्मको मध्यपहाडी लोकमार्गको अवलोकन गरेको हो ।

कात्तिक १६ गते उपमहासचिव ज्ञवालीको नेतृत्वको टोलीले चिवाभञ्ज्याङ र उपमहासचिव रिमाल नेतृत्वको टोलीले झुलाघाटबाट अवलोकन सुरु गरेको थियो । दुवैतर्फका टोली बिभिन्न जिल्लामा तयारी बैठक र अवलोकन गरी पाँचौँ दिन सोमवार धादिङमा भेट भई राजधानी आइपुगेको छ ।

मधेश प्रदेश बाहेकका ६ वटा प्रदेशलाई समेट्ने मध्यपहाडी लोकमार्गमा पर्ने सबै जिल्लामा पुगेर टोलीले स्थानीय पार्टी नेतृत्वसँग यात्रालाई प्रभावकारी बनाउने विषयमा छलफल गरी तयारीको योजना बनाएको छ । दुवै टोलीको अवलोकन भ्रमणका आधारमा प्रतिवेदन तयार गरी सचिवालयमा प्रस्तुत गरिने र त्यसपछि आवश्यक निर्णय लिइने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उपमहासचिव रिमाले नेतृत्वको टोली शनिवार नै भूकम्प प्रभाावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पुगेर स्थलगत निरक्षणसहित उद्धार र राहातको काममा स्थानीय पार्टी परिचालनको योजना बनाएको थियो ।

उपमहासचिव ज्ञवाली नेतृत्वको टोलीमा केन्द्रीय सदस्य किरण पौडेल, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डेका साथै जिल्ला कमिटीका इन्चार्ज रहनुभएका केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी उपमहासचिव रिमाल नेतृत्वको टोलीमा केन्द्रीय सदस्य विष्णु रिजाल, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ र पार्टीको केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग सदस्य लोकबहादुर भण्डारीका साथै जिल्ला कमिटीका इन्चार्ज रहनुभएका केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरू सहभागी हुनुभएको थियो ।