जनता टाइम्स

२३ कार्तिक २०८०, बिहीबार १३:१७

‘पहिले गोरु र राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ’


बेदकोट, २३ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरी आजभोलि खेत जोत्नमा व्यस्त हुनुहुन्छ । उहाँले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाड्नुभएको छ वर्ष भइसक्यो । खेत जोत्नका लागि उहाँ अचेल ट्र्याक्टर, ‘पावर टिलर’को प्रयोग गर्नुहुन्छ । पिपलाडीमा चौधरीको साँढे चार बिघा जमिन छ । वर्षौदेखि उहाँले तरकारी, उखु, गहुँ तथा धानखेती गर्दै आउनुभएको छ ।

‘पहिले राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छ’, उहाँले भन्नुभयो,‘प्रविधिको प्रयोगले धेरै किसानलाई धेरै सहजता थपेको छ ।’ कुरेरुवा किसान समूहमा आवद्ध उहाँले सरकारी अनुदानमा कृषियन्त्र खरिद गर्नुभएको थियो । उहाँहरुसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्नका लागि हिलो चक्का, जोत्नलाई पावर टिलर लगायतका उपकरण छन् ।

‘खेत जोत्न, धान, गहुँ काट्नलगायत सम्पूर्ण कृषिकर्मका लागि उपकरणको प्रयोग गर्छौँ’, उहाँले भन्नुभयो,‘कृषिमा परम्पराग शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ ।’ शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थाल्नुभएको छ । ‘कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांस कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्’, उहाँले भन्नुभयो, ‘यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ ।’

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय कञ्चनपुरमा कृषि क्षेत्रमा यान्त्रिकरण प्रयोग बढ्दै गएको छ । प्रविधिको प्रयोगमा किसानको आकर्षण बढ्दो छ । मानवीय श्रमसाधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि किसन आत्मनिर्भर हुन थालेका छन् । ‘पहिले पहिले परम्परागत तरिकाले खेती गर्थ्यौं, त्यसले जनशक्ति र लागत बढी लागेपनि उत्पादन कम हुन्थ्यो,’ चौधरीले भन्नुभयो,‘अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्दैछौँ, यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ ।’

कञ्चनपुरमा सरकारी तथा अन्य निकायका विभिन्न कार्यक्रमबाट नयाँ नयाँ प्रविधि भित्रिएसँगै कृषिकर्ममा सहजता थलेको छ । गाउँमा काम गर्ने युवा वैदेशिक रोजगारीका साथै अन्य क्षेत्रमा काम गर्न जाँदा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने गरेको छ । जनशक्ति एकदमै महगिँदै गइरहेको अवस्थामा कृषि यान्त्रिकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ किसानको आकर्षण बढेको चेतराज चौधरी बताउनुहुन्छ । ‘विगतको जस्तो काम गर्ने जनशक्ति पनि छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज गरेको छ’, उहाँले भन्नुभयो,‘अगाडि खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक/दुई सातामै सकिन्छ ।’

कञ्चनपुरको कृषि क्षेत्रमा यन्त्र उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताउनुभयो । ‘कृषि कर्ममा प्रयोग हुने नयाँ नयाँ यन्त्र, उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेकाटे छ’, उहाँले भन्नुभयो,‘व्यक्तिगत किनेर वा अनुदानमा किसानको पहुँचमा प्रविधि पुगेको छ ।’ उहाँका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँको कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग भइरहेको छ ।