जनता टाइम्स

२५ कार्तिक २०८०, शनिबार १४:३१

अर्थतन्त्र सुधार गर्न सरकार र राष्ट्र बैंकले तत्काल दुई काम गर्नुपर्छ : दिपक मलहोत्रा


काठमाडौं, कात्तिक २५ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा ब्यवसायी दिपक मलहोत्राले सरकार र नेपाल राष्ट्र बैंकले दुई काम गरिदिए मुलुकको अर्थतन्त्रमा सुधार हुने तथ्य औल्याउनु भएको छ ।

पछिल्लो समय रियल स्टेट उद्योगमा बिशेष केन्द्रित हुनुभएका मलहोत्राले सरकारकै कारण अहिले अर्थतन्त्र चलायमान हुन नसकेको र समस्या आएको निश्कर्ष पनि सुनाउनु भयो । ‘अहिले अर्थतन्त्र जसरी धरापमा परेको छ, त्यसमा सुधार गर्न सरकार र राष्ट्र बैंकले दुईटा काम गर्नुपर्छ,’ जनताटाइम्स डटकमसँगको कुराकानीमा चेम्बर उपाध्यक्ष मलहोत्राले भन्नुभयो ।

मलहोत्राले सरकारले दिनुपर्ने भुक्तानी नदिँदा अर्थतन्त्र ठप्प भएको बताउनु भयो । ‘राज्यले तिर्नुपर्ने निर्माण ब्यवसायी लगायत अन्य क्षेत्रका जति पनि बक्यौता रकम छन, ती सवैको शतप्रतिशत भुक्तानी तत्काल दिनुपर्छ । सरकारले यति काम गरे अर्थतन्त्र चलायमान हुन्छ, आधा समस्या समाधान हुन्छ,’ मलहोत्राले भन्नुभयो ।

मलहोत्राका अनुसार सरकारले दिनुपर्ने बक्यौता रकम नदिएको कारण अहिले ठेकेदारहरुले पैसा पाउन सकेनन । उनीहरुले पैसा नपाउँदा उनीहरुले तिर्नुपर्ने मान्छेलाई तिर्न सकेको छैन । रङ, डण्डी, सिमेन्ट लगायतका बिभिन्न सामानहरुको पैसा तिर्न सकेका छैनन । जस्को कारण सवै जनाको दिनचर्या नै ठप्प भएर बसेको छ । ‘त्यसकारण राज्यले जहाँबाट जुगाड गरेर भए पनि बक्यौता रकम एकमुष्ट रुपमा तत्काल भुक्तानी दिनुपर्छ,’ जनताटम्इस डटकमको जिज्ञासामा मलहोत्राले भन्नुभयो ।

यस्तै नेपाल राष्ट्र बैंकले बैंकहरुमाथि गरेको कडाईमा केही खुकुलो गर्नुपर्ने मलहोत्राको सुझाव छ । ‘राष्ट्र बैंकले जसरी बैंकहरुमाथि कडाइ गरेको छ, टाइट गर्दा समस्या समाधान हुँदैन, त्यस्ले गर्दा समस्या आइसकेको छ । त्यसलाई केही हदसम्म खुकुलो गर्नुपर्यो । रियल स्टेटमा १० प्रतिशत छ पोर्टफोलियोको, त्यसलाई २० प्रतिशत गर्नुपर्यो,’ मलहोत्राले थप्नुभयो, ‘यी सव कुराको बावजुद ब्याज दर घटाउनु पर्छ । यो ब्याज दरमा कसैले पनि आजको दिनमा नयाँ काम गर्न सक्ने अवस्था छैन । अहिले कुनै नयाँ काम गर्न मान्छे बैंकमा लोन लिनै जाँदैन ।’

अहिले अर्थतन्त्रमा समस्या आउनुमा यिनै मुख्य कारण रहेको मलहोत्राले ठोकुवा गर्नुभयो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरुले बिभिन्न भाषणमा अर्थतन्त्र सुधारोन्मुख छ भन्दै गर्ने भाषण यथार्थबिपरित रहेको ठोकुवा गर्नुभयो । ‘अर्थतन्त्र सुधारोन्मुख छ भन्छन, त्यो सव हावादारी कुरा हो । खराव छ अर्थतन्त्र । तर राज्यले चाह्यो भने सुधार गर्न सकिन्छ । समस्या अरु कारणले आएको होइन, आन्तरिक कारणले बिग्रिएको हो,’ मलहोत्राले भन्नुभयो ।

उहाँका अनुसार शतप्रतिशत रकम एकै पटक भुक्तानी गर्नुपर्छ । त्यो पैसा बजारमा आउँछ र अर्थतन्त्र चलायमान हुन्छ । ७०–८० अर्ब पैसा बजारमा एकैपटक आउँदा सवै चलायमान हुन्छ । मलहोत्राले अर्थतन्त्र सुधारका लागि अरु केही काम पनि गर्न जरुरी रहेको बताउनु भयो । मलहोत्राले सरकारदेखि नीजि क्षेत्रमा समेत रियल स्टेट उद्योगलाई हेर्ने दृष्टिकोण र हदबन्दीको ब्यवस्था हटाउनु पर्ने बताउनु भयो ।

रियल स्टेटको कारणले अरु धेरै उद्योग चलाउँछ । घर बनाउन डण्डी, सिमेन्ट, इटा, रङ, फर्निचर सवै उद्योग चल्छ रियल उद्योग चल्दा । रियल स्टेट उद्योग चलेन भने यी सवै उद्योग धरासायी हुन्छ

‘नेपालमा हदबन्दीको कुरा पनि समस्याकै रुपमा छ र हदबन्दी महेन्द्र सरकारले २०२१ सालमा लगाएको हो । त्यो हदबन्दी अहिले झनै टाइट भएर आयो । समयअनुसार परिवर्तन हुनुपर्छ । गर्नूपर्छ पनि । ब्यक्तिको बिषयमा टाइट गर्दा हुन्छ तर कम्पनीले कुनै काम गर्न खोज्दा हदबन्दी लाग्नु हुँदैन,’ मलहोत्राले भन्नुभयो, ‘उद्योग धन्दा गर्न किनेको जग्गा कम्पनी नचले बेच्न सक्दैन हदबन्दीका कारणले ।’

मलहोत्राले हदबन्दीका कारण ब्यवसायीसँगै बैंकहरु पनि समस्यामा परेको बताउनु भयो । ‘बैंकको ऋण तिर्न पनि हदबन्दीको कारण जग्गा बिक्रि गर्न नसकेर ब्याज तिर्न सकेको छैन । यी सव कारणले नयाँ नयाँ उद्योग आउन सकेको छैन । कम्पनीलाई जग्गाको हदबन्दी लागू हुनुहुन्न । यही कारणले धेरै उद्योगहरु समस्यामा छन,’ जनताटाइम्स डटकमसँगको कुराकानीमा चेम्बर उपाध्यक्ष मलहोत्राले भन्नुभयो ।

उहाँले रियल स्टेट उद्योग नचल्दा अन्य धेरै उद्योग पनि नचल्ने बताउनु भयो । ‘रियल स्टेटको कारणले अरु धेरै उद्योग चलाउँछ । घर बनाउन डण्डी, सिमेन्ट, इटा, रङ, फर्निचर सवै उद्योग चल्छ रियल उद्योग चल्दा । रियल स्टेट उद्योग चलेन भने यी सवै उद्योग धरासायी हुन्छ,’ मलहोत्राले भन्नुभयो । उहाँले जग्गाको कित्ताकाट खोलिदिएकोमा सरकार र बिशेषरुपमा प्रधानमन्त्री र भूमि ब्यवस्था तथा सहकारी मन्त्रीलाई धन्यवाद दिनुभयो ।