जनता टाइम्स

२६ कार्तिक २०८०, आईतवार ०८:०५

युवा संघद्वारा आयोजित पब्जी टुर्नामेन्टको उद्घाटन, विजेतालाई २ लाख पुरस्कार


काठमाडौं, कात्तिक २६ । राष्ट्रिय युवासंघ नेपाल साइबर सर्कल विभागले पब्जी टुर्नामेन्ट २०८०को उद्घाटन गरेको छ ।

राजधानीमा एक कार्यक्रमबीच युवासंघअन्तर्गतको सो विभागले पब्जी टुर्नामेन्ट २०८०को उद्घाटन गरेको हो । खेलको विजेतालाई २ लाख, दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवासंघका अध्यक्ष क्षितिज थेबेले टुर्नामेन्टले घरमै बसेर इन्टरनेटको माध्यमबाट पब्जी खेलसँग जोडिएका लाखौँ युवामा परेको नेपालले प्राप्त गरेका राजनीतिक उपलब्धि, गणतन्त्रबारे भएको वितृष्णा र नकारात्मकतालाई चिर्न सहयोग पर्याउने बताउनु भयो । राज्यले पब्जी खेललाई प्राथमिकतामा राख्नेपर्ने पनि उहाँले बताउनु भयो ।

‘बलिदानपूर्ण रुपले प्राप्त गरेका उपलब्धि रक्षा गरौँ । जनतालाई आत्मसात हुनेगरी जीवन सापेक्ष राजनीतिलाई अगाडि बढाउनुपर्छ भन्ने उद्देश्य राखेर ती युवालाई राजनीतिसँग जोड्न टुर्नामेन्ट आयोजना गरिएको हो,’ उहाँले भन्नुभयो, ‘समय सापेक्ष चल्न सक्नुपर्छ । विज्ञान र प्रविधीसँग जोडिनुपर्छ । ईगेमिङलाई राज्यले हेर्नुपर्छ ।’

खेलकुद क्षेत्रको विकासका लागि स्थापित सरकारी निकायबाटै ईगेमिडलाई बेवास्था गरेको उहाँको आरोप छ । युवासंघका महासचिव सुशील पुरीले पनि युवासंघद्वरा आयोजित पब्जी टुर्नामेन्ट २०८०ले पब्जी खेलमा आबद्ध युवामा देखिएको राजनीतिप्रतिको वितृष्णालाई चिर्न सहयोग पुर्याउने बताउनु भयो ।

यस्तै, नेकपा एमाले युवासंघ साइबर विभागका प्रमुख अजित लामाले पब्जी टुर्नामेन्ट २०८०–ले पब्जी खेल राष्ट्रिय र अन्तर्राष्ट्रिय टुर्नामेन्ट भएको बताउँदै यसको श्रीवृद्धिमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । सन् २०२३ मा चाइनामा भएको एसियन गेममा पब्जी खेललाई समावेश गरेको स्मरण गर्दै उहाँले पब्जीलाई सर्वप्रथम ब्यान्ड गर्ने देशले नै उपाधि जितेको जानकारी दिनुभयो।

‘सर्वप्रथम पब्जी खेललाई भारतले ब्यान्ड गरेको थियो । तर, सन् २०२३ मा चाइनामा भएको एसियन गेम्मको उपाधि भारतले नै जित्यो,’ लामाले भन्नुभयो । धेरै नेपाली युवाहरु खेलाडी पब्जी खेलमा आबद्ध भएको र नेपालमा पब्जी खेलको प्रचार हुन नसकेको बताउँदै यसबारे ध्यान दिन आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय युवासंघका बागमती संघका प्रवक्ता तथा पब्जी कार्यक्रमका उपसंयोजक भानु पौडेल, राष्ट्रिय युवासंघका निर्वाचन आयोगका प्रमुख बलराम बेलवासे, युवासंघका केन्द्रीय सदस्य जय लामा, छिरिङ शेर्पा, काठमाडौ प्रेस चौतारी सचिब लक्ष्मण शर्मा काठमाडौं महानगर कमिटीका अध्यक्ष दिपेश सुधिकारलगायतको उपस्थिति रहेको थियो ।