जनता टाइम्स

२६ कार्तिक २०८०, आईतवार १४:०७

गाजामा भयंकर लडाइँ, डाक्टरहरूले भने – अस्पताल चिहान बन्दैछ


गाजापट्टी, २६ कात्तिक । गाजाका अस्पतालबाहिर इजरायली ट्याङ्कको उपस्थितिका कारण त्यहाँको अवस्था जटिल बनेको छ । गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा भित्रका कर्मचारीका अनुसार इजरायली सैनिक र हमास लडाकुहरूबीच वरपरका सडकहरूमा भीषण लडाइँ भइरहेको छ। अस्पतालमा शरण लिएर बसेका बिरामी र अन्य मानिस दुवैतर्फको आक्रमणमा फसेका छन् ।

अल–शिफामा उपस्थित एक शल्यचिकित्सकले पत्रकारलाई भने कि अस्पतालमा पानी र खाना सकिएको छ। बिजुली पनि काटिएको छ ।

अर्कोतर्फ इजरायलले आफ्नो सेनाले यस क्षेत्रमा हमाससँग भिडन्त भएको बताए पनि सेनाले अस्पतालमा गोली चलाएको छैन । उनले आइतबार अस्पतालमा भर्ना भएका शिशुलाई ‘सुरक्षित अस्पताल’मा सार्न सहयोग गर्ने बताएका छन् ।

हालसम्म यहाँ दुई शिशुको मृत्यु भएको अस्पतालका चिकित्सकले बताएका छन् । यहाँ ३७ बालबालिकाको ज्यान खतरामा छ । अस्पतालमा भर्ना भएका २० नवजात शिशुको तस्बिर मिडियालाई पठाइएको छ ।

उनीहरुलाई अल शिफाको सर्जिकल थिएटरमा राखिएको छ । नवजात शिशुको हेरचाहका लागि बनाइएको वार्डमा भर्ना गरिएका यी शिशुको सघन उपचार कक्षले विद्युत् अभावका कारण ज्यान गुमाउन सक्ने चिकित्सकले बताएका छन् ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हमासले यस अस्पताल मुनि बनाइएको सुरुङबाट हमला गरिरहेको बताएको छ। यद्यपि हमासले यसलाई अस्वीकार गर्दै आएको छ ।

अस्पतालका शल्यचिकित्सक डा. मारवान अबु सादाले पत्रकारलाई अल–शिफा बाहिरबाट बारम्बार बन्दुकको गोली र बम विस्फोटको आवाज सुनिएको बताए।

अस्पताल परिसर वरपरको झगडाका कारण मृतक बिरामीलाई गाड्न समेत मुस्किल भएको उनले बताए ।