काठमाडौं, कात्तिक २७ । नेकपा एमालेको महासचिव शंकर पोखरेलले नेपालका कम्युनिष्ट पार्टीले निरङ्कुशता विरुद्ध निरन्तर संघर्ष गर्दै आएका बताउनुभएको छ ।
सोमबार कीर्तिपुरमा नेकपा एमाले कीर्तिपुर नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आन्दोलन जब सफलताको विन्दुमा पुग्न लाग्छ, त्यतिबेला नेपाली कांग्रेसले सदैव आफूलाई आन्दोलनको भावनाविपरीत उभ्याउने गरेको बताउनुभयो ।
२००७ सालमा कांग्रेसले जहानीया शासनकै निरन्तरता स्वरूप बनेको मोहनसमशेर नेतृत्वको सरकारमा सहभागी भएर कम्युनिष्ट र मुक्ति सेनामाथि दमन गरेको उहाँले स्मरण गराउनुभयो । त्यसैको प्रतिफल २०१७ सालको घटना भएको उहाँले बताउनुभयो ।
२०४६ सालमा पनि नेपाली कांग्रेसले अडान छाड्दा एमालेले आलोचनात्मक समर्थन गरेर प्राप्त उपलब्धिमा चित्त बुझाउनु परेको महासचिव पोखरेलले बताउनुभयो । मदन भण्डारीको नेतृत्वमा २७ बुँदे असहमतिको साथ तत्कालीन संविधानलाई नेकपा एमालेले समर्थन गरेको उहाँले स्मरण गराउनुभयो ।
२०६२÷०६३ को जनआन्दोलन त्यही २७ बुँदे असहमतिको जगमा उभिएको उहाँले दाबी गर्नुभयो । त्यसैको परिणाम गणतान्त्रिक लोकतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उहाँले बताउनुभयो ।
अहिले देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भए पनि नागरिकमा निराशा बढेको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभयो । देशबाट युवा पलायनको दर कहालीलाग्दो भएको पोखरेलले बताउनुभयो । यस वर्ष मात्रै ७ लाख ७२ हजार युवा रोजगारीको लागि बिदेसिएका उहाँ तथ्याङ्क सुनाउनुभयो । पढाइको नाममा डेढ लाख युवा बाहिरिएका उहाँले बताउनुभयो । ‘देश बनाउन चाहिने युवा जनशक्ति बिदेसिएपछि देश निर्माणको यात्रा कसरी अगाडि बढ्न सक्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।
जति बेला देशमा एमालेको सरकार हुन्छ त्यतिबेला देशमा नै केही गर्नुपर्छ भन्ने एक खालको उत्साह सञ्चार हुने उहाँले बताउनुभयो । तर एमाले सरकारबाट बाहिरिने बित्तिकै देशमा निराशा बढ्ने र युवा पलायन हुने स्थिति बढ्ने गरेको पोखरेलको भनाइ छ । ‘राष्ट्र निर्माणको लागि अब हामीले सङ्कल्प गर्ने बेला आएको छ’, उहाँले भन्नुभयो ।

देशमा विकास र समृद्धिको लागि अब धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दल बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालको आकांक्षा सहित अघि बढेको राजनीतिक दल भएको पोखरेलले स्पष्ट पार्नुभयो । त्यसैले नेकपा एमालेलाई बलियो राजनीतिक दलको रूपमा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालका राजनीतिक दलले अब देशलाई समृद्धिको यात्रा तर्फ अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । नेकपा एमालेले विकास र समृद्धिको यात्राको नेतृत्व लिनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसैको लागि नेकपा एमालेले मध्य पहाडी पुष्पलाल लोकमार्ग जागरण यात्रा तय गरेको पोखरेलले स्पष्ट पार्नुभयो ।
देशको विकास र समृद्धिको लागि आफूसँग केही हुनेहरूले समाजको लागि योगदान गर्नुपर्ने बताउनुभएको छ । सो कुरा शंखधरबाट सिक्नु पर्ने पोखरेलले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्