जनता टाइम्स

२८ कार्तिक २०८०, मंगलवार ०८:३६

टीकटक बन्द : बहाना एउटा, नियत अर्कै


काठमाडौं, कात्तिक २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले टिकटक एप बन्द गर्ने निर्णय गरेको छ । सरकारले अराजकता फैलाउनुका साथै सामाजिक सदभाव बिथोल्ने काम गरेको भन्दै टीकटक बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले यी दुई कारण बताए पनि टिकटकलाई प्रतिवन्ध लगाउनुमा ठूलो षडयन्त्र र वैदेशिक कारण रहेको बुझिन्छ । आम जनता तिहार मनाउन व्यस्त भएको मौका छोपेर प्रचण्ड सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय गर्नुले पनि थप आशंका जन्माएकोछ । नेपालमा सबैभन्दा धेरै मानिसले प्रयोग गर्ने एपमध्ये टिकटक हो ।

आफ्नो प्रतिभा देखाउने, विचार राख्ने र सन्देश प्रवाह गर्ने मामिलामा नेपालमा भिडियो सेयरिङ एप टिकटक अब्बल मानिन्छ । सर्वसाधारणले विचार राख्ने सबैभन्दा प्रभावकारी प्लेटफर्म पनि टिकटक बनेको छ । यस्तो एप बन्द गर्ने निर्णय गर्न सरकारले तिहारको अवसर किन रोज्यो भन्ने प्रश्न उठेको छ ।

सरकारले अत्यन्तै फितलो र हास्यास्पद तर्क दिएर टिकटक प्रतिवन्धित गरेको छ । मन्त्रिपरिषदको आजको बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले सामाजिक सद्भाव विथोल्न टिकटक प्रयोग भएकाले बन्द गर्ने निर्णय गरिएको दावी गर्नुभएको थियो । उहाँले टिकटकले नेपालको पारिवारिक संरचना र सामाजिक सम्बन्ध समेत विगारेको जिकिर गर्नुभयो । तर यो पूर्ण सत्य होइन भन्ने कुरा सवैलाई जानकारीमा छ ।

अहिले नेपालमा सामाजिक धार्मिक सदभाव विथोल्ने काममा सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उहाँको सरकार र माओवादी पार्टी अभियानकै रुपमा लागेको छ । जातीयताको कुरा उछालेर धार्मिक सदभाव विथोल्न प्रचण्डले वर्षाैंदेखि मेहेनत गर्दै आउनुभएको छ । देशमा विग्रह सिर्जना भयो भने मात्र आफ्नो राजनीति फस्टाउँछ भन्ने उहाँको बुझाइ छ ।

टिकटकका कारण सामाजिक सदभाव बिग्रिएको मान्ने हो भने फेसबुक, युटुब र टुइटर जस्ता एपले चाहिँ के गरिरहेको छ भन्ने प्रश्न उठ्छ । अहिले देशमा खासगरी युटुब मार्फत् ठूलो आतंक सिर्जना गरिँदैछ । सदभाव बिगार्ने र हिँसा भड्काउने खालका सामग्री टिकटकमा भन्दा फेसबुक र युटुबमा धेरै पाइन्छ । तर सरकारले टिकटकलाई नै किन टार्गेट गर्यो ? यो प्रश्न उठिरहेको छ ।

टिकटक एपले विश्वव्यापी तहल्का मच्चाइरहेको छ । विश्वव्यापी रुपमा पश्चिमा मुलुकका एपहरुको साम्राज्य छ । यस्तो अवस्थामा एउटा चिनियाँ कम्पनीले टिकटक एप ल्यायो । टिकटकले पश्चिमी मुलुकहरुका एपलाई पनि पछाडि पारिदियो । ठूलो मात्रामा व्यापार पनि कब्जा गरिदियो । त्यसपछि चीनका प्रतिस्पर्धी तथा प्रतिद्धन्दी देशहरुले टिकटकको विरोध गर्न थाले । त्यस क्रममा अमेरिका, वेलायतसहित कैयन पश्चिमा मुलुकहरुले टिकटकमा प्रतिवन्ध लगाइसकेका छन् । सरकारको यो निर्णय परराष्ट्रमन्त्री एनपी साउदको अमेरिका भ्रमणलगत्तै हुनुले पनि थप आशंका उत्पन्न गराएको छ ।

सन् २०२० मा भारत र चीन बीच गलवान सीमामा द्धन्द भएपछि भारतले कैयन चिनियाँ एपहरुलाई प्रतिवन्ध लगाएको थियो । त्यसमध्ये एक टिकटक पनि हो । अमेरिकासहितका पश्चिमा मुलुकहरुले विश्वभरी चिनियाँ एपहरुलाई प्रतिवन्ध लगाउन दवाब दिइरहेका छन् । नेपाललाई पनि टिकटक प्रतिवन्धित गर्न दवाब थियो । नेपालमा चिनियाँ एपहरु, विशेषगरी टिकटक प्रतिवन्धित गर्न भारतले पनि दवाब दिँदै आएको थियो ।

गत महिना परराष्टमन्त्री एनपी साउन अमेरिका भ्रमणमा जानुभएको थियो । अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउन भनेकै कारण उहाँ फर्कैपछि टिकटक प्रतिवन्धको तयारी थालिएको सरकारी स्रोतहरुले बताएको छ । स्रोतका अनुसार अमेरिका र भारतलाई रिझाउन प्रचण्ड सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयप्रति सत्तारुढ दल कांग्रेसकै महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले समेत आपत्ति जनाइसक्नु भएको छ । एमाले महासचिव शंकर पोखरेलसहित बिपक्षी दलका नेताहरुले पनि सरकारको निर्णय अनुचित रहेको भन्दै टीकटकलाई प्रतिबन्ध होइन, नियमनको बाटो लिनुपर्ने बताउनु भएको छ ।