जनता टाइम्स

२८ कार्तिक २०८०, मंगलवार १६:४०

एमाले प्रचार कमाण्डर भन्छन : टिकटक बन्द गर्ने सरकारी निर्णय खेदजनक र भर्त्सनायोग्य


काठमाडौं, कात्तिक २८ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले टिकटक बन्द गर्ने सरकारको निर्णय खेदजनक र भर्त्सनायोग्य रहेको बताउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्ड सरकारको सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय खेदजनक, भर्त्सना योग्य, स्वेच्छचारी कदम भएको गौतमले बताउनु भएको हो । प्रमुख गौतमले यसको नियमन गर्नुपर्दा कानून बनाएर गर्नुपर्ने पार्टीको अडान पनि राख्नुभएको छ ।

‘अलोकतान्त्रिक बाटोबाट संसद्लाई छलेर तानाशाही ढंगले टिकटक जस्तो लोकप्रिय सामाजिक सञ्जाल बन्द गरेर होइन, सामाजिक सञ्जाललाई कानून बनाएर नियमन गर्ने, दर्ता अनिवार्य गर्नुपर्ने, तिनलाई करको दायरामा ल्याएर व्यवस्थित गर्नुपर्नेमा सामाजिक सञ्जाल टिकटकलाई नै बन्द गर्ने कुराले सरकारको नियत प्रष्ट भएको खुलासा भएको छ’, गौतमले फेसबुकमा लेख्नुभएको छ ।

सरकारले आजैदेखि टिकटक बन्द गर्ने निर्णय गरेर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइसकेको छ ।