काठमाडौं, कात्तिक ३० । नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले पत्र पठाएको छ । टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएको हो ।
टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष खनाललाई सम्बोधन गर्दै गत सोमबार नै पत्र पठाएको हो ।
कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयबारे कात्तिक २७ गते नै प्राधिकरणमार्फत टिकटकलाई जानकारी दिइएको थियो । त्यसको जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन अनुरोध गरेको छ ।
’नेपाल सरकारको यो निर्णयबाट लाखौं नेपाली जनताहरू, जसले हाम्रो यो प्लेटफर्ममार्फत रचना र खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित छौं,’ टिकटकले भनेको छ, ‘यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेका छन्। उनीहरूले यो प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरेका छन ।’
टिकटकले नेपाल सरकारको प्रतिबन्धको निर्णयले कम्पनीको लगानी योजनामा असर पर्नुका साथै युवा पुस्ताका नेपाली कन्टेन्ट क्रिएटरहरूलाई समेत असर गर्ने समेत बताएको छ । नेपालका थुप्रै युवाले टिकटकमार्फत व्यवसाय सञ्चालन गरेको र यसरी बन्द गर्दा उनीहरूको व्यवसायमै समस्या आउने भन्दै टिकटकले चिन्ता जनाएको हो । प्रयोगकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पत्रमा आफ्नो प्लेटफर्मलाई सुरक्षित र स्वागतयोग्य वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि प्रष्ट पारेको छ ।
’विश्वव्यापी प्लेटफर्म भएकाले संसारभर हाम्रा हजारौं कर्मचारीहरू प्रयोगकर्ताका लागि सुरक्षित वातावरण तय गरिराख्नका लागि काम गरिरहेका छन । हामी सामाजिक सदभावको मापदण्डभन्दा बाहिर पर्ने कन्टेन्ट र मानिसका व्यवहारहरू सम्बोधन गर्छौं। यसका लागि हामीले नीतिहरू र प्रविधिहरू व्यवस्था गरेका छौं। यिनले त्यस्ता मापदण्ड उल्लंघन गर्ने कन्टेन्ट र टिकटक खाता हटाउने काम पनि गर्छन,’ टिकटकले भनेको छ ।
टिकटकले नेपालमा टिकटक सञ्चालनका निम्ति गरिएको पध्यानाकर्षण गराएको छ । टिकटकका प्रतिनिधिहरूले गत कात्तिक १७ गते (नोभेम्बर ३) गृह मन्त्रालयअन्तर्गत साइबर अपराध नियन्त्रण र साइबर सुरक्षाको कमिटीसँग भेटघाट गरेको पत्रमा उल्लेख छ । यसैगरी असोज १८ गते (अक्टोबर ५ मा) नेपालमा इन्टरनेट सुरक्षा सचेतना सम्बन्धी अभियान चलाउन सहमति पत्रमा हस्ताक्षर गरेको टिकटकले जनाएको छ ।
’हामीले नेपाल सरकारलाई गत जेठ २४ गते (जुन ७) मा नेपालको कानुनद्वारा वर्जित कुनै पनि सामग्री हटाउन सिधै अनुरोध गर्न सकिने पोर्टल, ’ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टूल’ को पहुँच दिएका थियौं। त्यस्तै भदौ १२ गते डिजिटल सर्भिस ट्याक्स पेयरका रूपमा दर्ता पनि गरेका छौं,’ टिकटकले भनेको छ । आफ्नो प्लेटफर्मबारे जानकारी दिन प्राधिकरण, सिआइबी, साइबर ब्युरोसँग पटकपटक कार्यशालाहरू राखेको उल्लेख गर्दै टिकटकले प्राधिकरणलाई दिइएको ’ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टूल’ को पहुँच साइबर ब्युरोलाई पनि हालै उपलब्ध गराएको जनाएको छ
टिकटकले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्न तयार रहेको भन्दै एकाएक प्रतिबन्धलाई वाक स्वतन्त्रता हननको दावीसमेत गरेको छ । ’आफ्ना अभिव्यक्तिहरू राख्न व्यापक रूपमा प्रयोग गरिरहेको प्लेटफर्म यसरी एकाएक बन्द गर्नु वाक स्वतन्त्रताविरूद्ध हो। हामी नेपाल सरकारले उठाएका कुनै पनि प्रश्न सम्बोधन गर्न र दुबै पक्षको हितमा हुने गरी काम गर्ने संकल्प गर्छौं,’ पत्रमा भनिएको छ ।
टिकटकले पत्रमा मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको जानकारीसमेत दिएको छ । सन् २०२२ अक्टोबरदेखि सन् २०२३ जुनसम्म उक्त संख्यामा भिडिओहरू हटाइएका टिकटकले जनाएको हो ।
’यी सबै कुराहरूले हामी नेपाल सरकारसँग सहकार्य गर्न कति प्रतिबद्ध र प्रयासरत छौं भन्ने देखिन्छ । यसकारण टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारसँगको हाम्रो सहकार्य विपरीत छ । प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टमा के समस्या भएको हो भन्ने पहिचान गर्नका निम्ति टिकटक नेपाल सरकारसँग काम गरिरहन प्रतिबद्ध छ । त्यसैले हामी टिकटक बन्द गर्नुपर्ने वास्तविक र विशिष्ट कारणहरू के हुन् भनेर हामीलाई प्रस्ट जानकारी दिन नेपाल सरकारसँग अनुरोध गर्छौं,’ टिकटकले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्