जनता टाइम्स

३० कार्तिक २०८०, बिहीबार २२:३६

विश्वकप क्रिकेटको फाइनलमा पुग्यो अस्ट्रेलिया, दक्षिण अफ्रिका ३ विकेटले पराजित


काठमाडौं, कात्तिक ३० । अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको हो ।

दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले १६ बल बाँकी हुँदा ७ विकेटको क्षतिमा २१५ रन बनाउँदै पूरा गर्यो । अस्ट्रेलियाका लागि टेभिस हेडले ४८ बलको सामना गर्दै सर्वाधिक ६२ रन जोडे । स्टीवन स्मिथ ३०, डेभिड वार्नर २९, जोस इंग्लिस २८ रन दिलाए ।

यो विश्वकपमा दोहोरो शतक प्रहार गर्दै चर्चामा रहेका ग्लेन म्याक्सवेल भने दक्षिण अफ्रिका विरुद्ध ५ बलको सामना गर्दै एक रन बनाएर आउट भए । भारतको इडेन गार्डेनमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई मध्यम स्तरको लक्ष्य दिएको थियो । दुई बल बाँकी हुँदा १० विकेटको क्षतिमा दक्षिण अफ्रिकाले २१२ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि डेबिड मिलरले शतकीय पारी खेले । उनले ११६ बलमा ५ छक्का र ८ चौकाको मद्दतमा १०१ रन जोडे । सुरुमै धरापमा परेको दक्षिण अफ्रिकाको इनिङ्सलाई मिलरले सम्हालेका थिए । तर जितका लागि त्यो पर्याप्त हुन सकेन ।

दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजी र तबरेज सम्सीले समान दुईदुई विकेट लिए भने कासिगो रबडा, केशव महाराज र एडेन मार्करमले एकएक विकेट हात पारे । पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कुमिन्सले समान तीन–तीन विकेट लिएका थिए । यस्तै जोश हेजलवुड र टेभिस हेडले समान दुईदुई विकेट हात पारे ।

पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै भारत यसअघि नै फाइनलमा पुगिसकेको छ । मंसिर ३ गते आइतबार हुने विश्वपको फाइनलमा अस्ट्रेलियाले भारतको सामना गर्नेछ ।