जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १५:४५

भ्रमण वर्ष सफल पार्न त्रिदेशीय ट्राभल एक्स्पो हुँदै


सिबी अधिकारी/काठमाडौ

नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटन प्रवद्र्धनका गतिविधि बढेका छन् । तीन महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय गतिविधि भइरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायी लागिपरेका छन् ।

मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्डले पनि आफ्नो भूमिकालाई पूर्ण क्षमताका साथ प्रयोग गर्दै निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिरहेको छ । भ्रमण वर्ष सचिवालयले आफ्ना पर्यटकीय गतिविधि र सरोकारवाला निकायसँगको साझेदारी अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनमा जुटेको छ ।

स्वदेशमा मात्र नभई विदेशमा पनि भ्रमण वर्षको प्रचार प्रसारले तीब्रता पाएको छ । बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत मुलुकमा नेपालका पर्यटकीय गन्तव्य झल्कने प्रचारात्मक सामग्रीका साथ प्रवद्र्धन गरिएको छ । हालै बेलायतको लण्डनमा ‘बस ब्राण्डिङ’ गरिएको छ । छिट्टै चीनको बेइजिङ र साङ्घाई तथा अष्ट्रेलियालगायत गन्तव्यमा पनि त्यस्तै प्रवद्र्धनात्मक कार्यक्रम गरिने बोर्डका बजार प्रबन्धक श्रद्धा श्रेष्ठले जानकारी दिनुभयो ।

भ्रमण वर्षलाई लक्ष्य गर्दै काठमाडौँमा त्रिदेशीय पर्यटन मेला नेपाल–इण्डिया–चाइना एक्स्पो (नाइस) आयोजना गरिँदैछ । भ्रमण वर्ष सचिवालय र बोर्डको सहयोग र समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नाइस कार्यक्रम आयोजना गर्न लागेको हो । झण्डै एक हजार विदेशी पाहुनालाई एउटै मञ्चमा जम्मा गरेर नेपालको पर्यटन प्रवद्र्धन गरिनेछ ।

नेपालको सबैभन्दा ठूलो स्रोत बजारका रुपमा रहेका दुई छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताउनुभयो । “हामी दुई ठूला पर्यटकीय स्रोत बजार (भारत र चीन) को बीचमा छौंँ, यसलाई मात्र उपयोग गर्न सक्ने हो भने हामी पर्यटकीय लक्ष्य भेटाउन मुस्किल पर्ने छैन, त्यसैले भारत र चीन लक्षित प्रवद्र्धनका कामलाई प्रभावकारी रुपमा अघि बढाउँदैछौँ”, उहाँले भन्नुभयो ।

नाइस एक्स्पो आगामी फागुन ९ देखि १२ गतेसम्म (फेब्रुअरी २१ देखि २४ तारिख) आयोजना हुनेछ । एक्स्पोमा २०० भन्दा बढी क्रेताले भाग लिने जनाइएको छ । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार एक सय बिक्रेता, चीन र भारतका ५० भन्दा बढी सञ्चारकर्मी, १५ विज्ञ वक्तालाई आमन्त्रण गरिनेछ ।

एक्स्पोमा नेपाल, भारत र चीनका एयरलाइन्स, होटल/रिसोर्ट, पर्यटक यातायात, ट्राभल, टूर, बैंक तथा वित्तीय संस्थालगायत पर्यटनसँग सम्बन्धित कम्पनीले सहभागिता जनाउँनेछन् । सरकारले नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । मुख्य ठूला पर्यटकीय स्रोत बजार चीन र भारत लक्षित प्रवद्र्धनका गतिविधि अघि बढाइएको छ ।

ती मुलुकबाट केही प्रतिशत मात्र पर्यटकलाई नेपालमा आकर्षण गर्न सके लक्षित पर्यटकीय आँकडा भेट्टाउन समस्या नहुने पर्यटन व्यवसायीको धारणा छ । संयुक्त राष्ट्र सङ्घ, विश्व पर्यटन सङ्घको सन् २०१७ को वार्षिक प्रतिवेदनअनुसार विश्वमा एक अर्ब ३२ करोड ३० लाख पर्यटक पुगेका छन् । तीमध्ये सबैभन्दा धेरै चिनियाँ पर्यटक छन् । सन् २०१८ मा एक करोड ५० लाख चिनियाँ नागरिक विश्व भ्रमणमा निस्केका छन् ।

त्यस्तै भारतबाट पनि ठूलो संख्यामा पर्यटक घुम्न जाने गरेका छन् । नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय र चिनियाँ नै छन् । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१८ मा १२ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त अवधिमा भारतबाट दुई लाख ४३८ भारतीय पर्यटक नेपाल आएका छन् भने चीनबाट एक लाख ५३ हजार ६०२ पर्यटकले नेपाल घुमेका छन् ।

सन् २०१७ मा क्रमशः भारतबाट एक लाख ६० हजार २८३ र चीनबाट एक लाख चार हजार ६६४ नेपाल आएका थिए ।भ्रमण वर्षकै सन्दर्भमा आगामी नोभेम्बरमा चीन र भारतमा बेग्लाबेग्लै नेपाल प्रदर्शनी गर्ने भ्रमण वर्ष सचिवालयको तयारी छ । छिमेकी मुलुकबाहेक अन्य सम्भावित स्रोत बजारमा पनि प्रवद्र्धनात्मक गतिविधि गरिने बताइएको छ । बौद्ध धर्मावलम्बीलाई ध्यान दिँदै म्यानमा, कम्बोडियालगायत देशबाट पर्यटक आकर्षण गर्ने कार्ययोजना रहेको छ ।