जनता टाइम्स

२ मंसिर २०८०, शनिबार २०:४९

निर्माता शारदा गैरे र निर्देशक गणेश पाण्डेको को–हजबेण्डलाई क्यानडामा उत्कृष्ट सर्ट फिल्म अवार्ड


क्यानडा, मंसिर २ । डकुमेन्टी निर्माता एवं पत्रकार गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्र को–हजबेण्ड अर्थात सहायक श्रीमान्ले क्यानडामा उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ ।

नेपालको बहुपति प्रथाको विषयवस्तु समेटेर तयार पारिएको सो वृत्तचित्रले ३ सय अमेरिकी डलर नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।

क्यानडाको टोरोन्टोमा शनिबार आयोजित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिवलमा को–हजबेण्डले ३ सय अमेरिकी डलरसहितको अवार्ड जितेको निर्देशक पाण्डेले जानकारी दिनुभएको छ । हो ।

मेट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आयोजित समारोहमा फिल्म फेस्टिवलका सहनिर्देशक युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एशोशिएट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलोरोड बोउल्डरका एशोशियट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार र अवार्ड प्रदान गर्नुभयो । सो संस्थाले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ ।

अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट ५ हजार जना मानवशास्त्रीहरुको सहभागितामा यस वर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै फिल्म र मिडिया महोत्सव भइरहेको आयोजक संस्थाले जनाएको छ । महोत्सवमा संसारभरका मानव शास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौँ चलचित्र तथा वृत्तचित्र प्रदर्शनमा राखिएको छ ।

ती मध्ये नेपालको को–हजबेण्डलाई उत्कृष्ट अवार्ड घोषित भएको पाण्डेले बताउनु भएको छ । पछिल्लो समय डकुमेन्ट्री निमौणमा जमेका निर्देशक पाण्डे र निर्माता गैरे प्रेस चौतारी नेपालका उपाध्यक्ष र केन्द्रीय सदस्य हुनुहुन्छ ।