जनता टाइम्स

३ मंसिर २०८०, आईतवार १८:१३

झुलाघाटबाट सुरु हुने एमाले अभियानको ठीक अगाडि दार्चुलामा तोक्यो प्रेस चौतारीले केन्द्रीय समिति बैठक


काठमाडौं, मंसिर ३ । प्रेस चौतारी नेपालले यही मंसिर १२ र १३ गते दार्चुलामा केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र इञ्चार्ज एवं नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।  नेकपा एमालेले सञ्चालन गर्न लागेको ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ लाई बिशेष महत्व दिई उदघाटनको ठीक अघिल्लो दिन समापन हुने गरी बैठक तय गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

‘नेकपा एमालेले जुन उदेश्यका साथ पुष्पलाल मध्यपहाडी लोकमार्गका जिल्लाहरुलाई समेटेर झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ तय गरेको छ । त्यसमा संगठनको सिंगो शक्ति परिचालित गरी अभियानबारे देशभरका नागरिकलाई सूसुचित गर्न दार्चुलामा बैठक राखिएको हो,’ बैठकमा अध्यक्ष बस्नेतको भनाई उधृत गर्दै महासचिव हिरामान लामाले भन्नुभयो ।

महासचिव लामाका अनुसार दार्चूलामा बैठक सकेर मंसिर १४ गते झुलाघाटमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको झण्डा फहराएर सुरु गर्नुहुने ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को उदघाटन समारोहमा सहभागी हुनेछ ।

सचिवालय बैठकले बैठक ब्यवस्थापनका लागि सुदुरपश्चिम इञ्चार्ज केन्द्रीय सचिव लोग्शरी कुँवरको नेतृत्वमा सहइञ्चार्ज राजेन्द्र धामीसहित सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सवै केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी र दार्चुला जिल्लाका प्रेस चौतारीका बर्तमान तथा पूर्व पदाधिकार र कार्यसमितिका सदस्यहरु रहेको समिति गठन गरेको कार्यक्रम बिभाग प्रमुख समेत रहनुभएका सचिव हरिबल्लभ नेपालले जानकारी दिनुभयो ।