जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १७:३५

खुल्यो मलेसियाको रोजगारी, दिन थालियो श्रम स्वीकृती


काठमाडौं, भदौ २९ । बिगत पन्ध्र महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी आजबाट खुलेको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी आजबाट खुला गर्दै मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरिएको हो ।

यो प्रक्रिया सुरुभएसँगै अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार अब कामदार मलेसिया जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नेछ । मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गरिनेछ । मलेसियाका रोजगारी खुलाउने निर्णय गरेर टोली फर्किएसँगै दुई देशबीच गत कात्तिक ११ गते भएको श्रम समझदारी कार्यान्वयनमा आएको हो ।

 मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै श्रममन्त्री गोकर्ण बिष्टको निर्देशनमा गत बर्षको जेठबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकिएको थियो । मलेसियसँग सेक्युरेटी गार्डको हकमा पनि त्यही समझदारी लागू हुनेछ । तत्कालका लागि ३६ वटा पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गरिने मन्त्रालयले जनाएको छ । नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । बाँकी ८६ संस्थामा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरबाट स्वीकृति प्रदान गर्ने सहमति भइसकेको छ ।

मन्त्री बिष्टकै अडानका कारण कात्तिकमा मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै बेहोर्ने गरी मलेसिया सरकारसँग श्रम समझदारी भएको थिया । तर मलेसियाले पुराना भेन्डरमार्फत नयाँ कामदारको भिसा प्रक्रियाअघि बढाउन चाहेपछि केही समय लम्बिएको हो । अब भने सरकारले कामदारको हित अनुकुल हुने ग्यारेन्टी गर्दै मलेसियाको रोजगारीलाई सुचारु गरेको हो ।