विराटनगर, भदौ २९ । मुख्यमन्त्री शेरधन राईले सीडीओ (प्रमुख जिल्ला अधिकारी) हरु संघीय सरकारको मात्र प्रतिनिधि नभएको बताउनु भएको छ । विराटनगरमा दुई दिनदेखि जारी सुरक्षा बैठकमा मुख्यमन्त्री राईले सो भनाई राख्नुभएको हो ।
‘प्रमुख जिल्ला अधिरकारी (सीडीओ) सिंहदरबारको मात्र प्रतिनिधि होइनन, प्रदेश सरकारको पनि प्रतिनिधि हो । प्रदेश सरकारसँग पनि समन्वयन गरेर काम गर्नुपर्छ,’ मुख्यमन्त्री राईले भन्नुभयो । उहाँले प्रजिअ सवै सरकारको प्रतिनिधि भएको बताउनु भयो । ‘प्रदेशभित्र चन्दा आतंक, लागुऔषधको ओसारपसार र संगठित अपराध कायमै छ, नागरिकको सुरक्षाका लागि तीनै तहका सरकारले संयुक्त रुपमा भूमिका खेल्नुपर्ने आवश्यता रहेको छ,’ राईले भन्नुभयो ।
राईले जनसहभागीताबीना सुरक्षा चुनौती व्यवस्थापन गर्न कठिन हुने आफ्नो धारणा पनि राख्नुभयो । परिवर्तित व्यवस्थाको उपलब्धिलाई संस्थागत गर्न र जनतालाई सुरक्षाको प्रत्याभुति दिन कुनै कसरबाट कन्जुस्याँई गर्न नहुने उहाँको भनाइ छ । बैठकमा आन्तरिक मामिला एवंम् कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशको सुरक्षा अवस्था बलियो बनाउन निरन्तर छलफल जारी राख्ने जानकारी दिनुभयो ।
बैठकमा प्रदेश–१ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको छ ।संघीय सरकारको गृह मन्त्रालाय र प्रदेश सरकारको आन्तरिक मामिला एवं कानुन मन्त्रालयले पहिलो पटक संयुक्तरुपमा सुरक्षा बैठकको आयोजना गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्