काठमाडौं, मंसिर ४ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले हरेक राजनीतिक दलका नेता–कार्यकर्ता मानवीय सेवाको काममा अभिन्न रूपमा जोडिनु पर्ने बताउनु भएको छ ।
मानव सेवा आश्रमले सोमबार आयोजना गरेका मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो । उहाँले नेकपा एमालेको सदस्य हुनुको नाताले मानव सेवा लाग्न पार्टी अध्यक्ष केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले निरन्तर अभिप्रेरित गर्नुभएको पनि बताउनु भयो ।
‘एमालेका नेता, कार्यकर्ता र सदस्य हुनुको नाताले मानव सेवामा खासगरी सहयोगापेक्षी मानवको सेवामा सम्पूर्ण रूपमा समर्पित हुनु यो पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको कर्तव्य हो भन्ने उहाँहरूको भनाइ रहेको छ, पार्टीले पनि त्यसलाई त्यही रूपमा लिएको छ’, उपाध्यक्ष पौडेलले भन्नुभयो ।
मानव सेवा आश्रमले चाल्ने हर कदममा नेकपा एमाले र एमालेका नेता–कार्यकर्ता र सदस्यले स्वयंसेवी काम गर्ने पनि उहाँले बताउनु भयो । मानवीय सेवाको कामलाई एमालेले महत्वपूर्ण अभिभाराको रूपमा लिने पौडेलको भनाई छ ।
असहाय र सहयोगापेक्षी नागरिकको निमित्त संविधानमा धेरै महत्वपूर्ण कुरा समेटिएको भएपनि त्यो अभिभारा पूरा गर्न भने बाँकी रहेको उहाँले बताउनुभयो । यसलाई पूरा गर्न सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने पौडेलको सुझाव थियो । सकारले आफ्नो दायित्व र अभिभारा सही रूपमा पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
समाज सेवा र सहयोगापेक्षीलाई सहयोग गर्ने कुरा कुनै दल विशेषको कुरा मात्र नभएको पौडेलले प्रष्ट पार्नुभयो । सो विषय सिङ्गो समाजको अभिभाराको विषय भएको उहाँले बताउनुभयो । सहयोगको अभावमा मरिसहनु सडकमा बस्नु पर्ने अवस्थाबाट मुक्त गर्न सिङ्गो समाज साझा अठोटका साथ लाग्नुपर्ने उहाँको भनाइ छ ।
राजनीतिक दल जनताको नागरिकका समस्या समाधान गर्नु दायित्व भएको पौडेले बताउनुभयो । ‘हामी राजनीतिक पार्टीलाई गुनासो गर्ने सुविधा छैन, आलोचना गरेर उम्किने सुविधा छैन, हामीसँग के अवसर छन् भने हामीसँग राम्रा बिचार छन् भने राम्रा दृष्टिकोण छन् भने जनताका माझमा जान सक्छौँ, जनताले हामीलाई अनुमोदन गर्न सक्छन्, जनताले अनुमोदन गरे भने हामीले हाम्रा राम्रा कुरालाई कार्यान्वयन गर्न सक्छौँ’, उपाध्यक्ष पौडेलले भन्नुभयो ।
जनतामा जाने र जनताबाट अनुमोदित भएर आउने अनि जनताको सेवामा लाग्ने जिम्मेवारी र दायित्व राजनीतिक दलको भएको उहाँले प्रष्ट पार्नुभयो । नेकपा एमाले यही भावका साथ आफ्नो कर्मथलोमा खटेको पौडेलले बताउनुभयो । ‘कुनै पनि राजनीतिक पार्टीले गुनासो गरेर उनीहरूको कर्तव्य निर्वाह हुँदैन’, पौडेलले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्