जनता टाइम्स

५ मंसिर २०८०, मंगलवार ०९:३५

त्यसपछि म सरकारबाट हटाइएँ : केपी ओली


काठमाडौं, मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर चुच्चे नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्रीबाट हटाइएको प्रष्ट पार्नुभएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका–५ का विद्यार्थीसँग पार्टी केन्द्रीय कार्यालय च्यासलमा साक्षात्कार गर्दै अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताउनु भएको हो ।

आफू भन्दा अगाडि प्रधानमन्त्री भएकाहरुले त्यो भूमि हाम्रो हो भनेर भन्न नसकेका तर आफूले त्यो काम गरेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले नेपालमा कुर्सी मात्र खोज्ने र कुरा गर्दा कुर्सी जान्छ भन्ने डरले शासकहरुले त्यो हाम्रो भूमि हो भन्न नसकेका बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो – ’नेपालमा कुर्सी मात्र खोज्ने, कुर्सीका लागि मरिहत्ते गर्ने, कुर्सी जान्छ भनेर डराउने शासकहरुले त्यो भूमि हाम्रो हो भनेर कहिल्यै कुरा गर्न सकेनन, त्यो भूमि हाम्रो नक्सामा सामेल गर्ने, संविधानमा सामेल गर्ने, संसद्मा छलफलको विषय बनाउने, संसद्ले सर्वसम्मतिले पास गर्ने, राष्ट्रलाई एक ठाउँमा ल्याएर उभ्याउने र राष्ट्रियताको प्रश्नमा सर्वसम्मतिले संसद्लाई उभ्याउनेदेखि लिएर संविधान संशोधनमा पनि सर्वसम्मत बनाउने त्यस्तो महत्वपूर्ण विषय कसैले उठाउन सकेको थिएन, मेरो समयमा मैले हाम्रो जमिन नक्सा सामेल नगर्ने, फिर्ता लिने कोशिस किन नगर्ने भनेर हामीले कोशिस अगाडि बढायौं, नक्सामा राख्यौं, संसद्बाट पारित गर्यौं, भारतसँग पत्राचार गर्यौं, त्यसपछि म सरकारबाट हटाइएँ, त्यसै कारणले हटाइएको हो, देशभित्रका लागेकै हुन्, यो काम भएकै हुनाले हाम्रो सरकार हटाइयो ।’

नेपाली भूमि समेटिएको नक्साको विषयलाई अगाडि नबढाउनकै लागि अर्काे सरकार बनाइएको पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले नयाँ नक्सा जारी गरेकै कारण आफूलाई सरकारबाट हटाएर त्यो काम अघि नबढाउन गठबन्धन सरकार बनेको बताउनुभयो ।

नेपाल राष्ट्रको भलो गर्ने, नेपालको स्वाधिनताको सम्मान र गौरव गर्नुपर्नेमा अहिलेका गठबन्धन दलका शासक त्यस्तो खालका नभएका उहाँले बताउनुभयो । अरुका लागि कम्फरटेबल गठबन्धन सरकारले यो विषयलाई अगाडि नबढाएर अलपत्र पारेको अध्यक्ष ओलीले बताउनुभयो ।
पहिला नेपालकै रहेको भूभाग भारतले पछि कब्जा गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ’हामीले नक्सा छाप्दा र संसद्बाट नक्सा बनाउँदा ५८ वर्ष भइसकेको थियो उनीहरुले कब्जा गरेको, अहिले ६१ वर्ष भइसक्यो, मैले नक्सा बनाउँदा, त्यसलाई संसद्बाट पारित गर्दा र त्यसलाई संविधानको अंग बनाउँदा ५८ वर्ष भएको थियो, ब्रिटिसका पालामा पनि त्यो कब्जामा थिएन, पछि भारतले कब्जा गर्यो ।’

आफू प्रधानमन्त्री हुँदा शैक्षिक लगायत क्षेत्रमा पनि असाधारण काम गरेको उहाँले बताउनुभयो । युवाहरुलाई विदेश पलायन रोक्न शैक्षिक प्रमाणपत्र धितो राख्ने व्यवस्था गरिएको अध्यक्ष ओलीले बताउनुभयो । किशोरीहरुका लागि स्यानिटरी प्याडको व्यवस्था मिलाउने काम पनि आफू नेतृत्वको सरकारले गरेको उहाँले बताउनुभयो ।