जनता टाइम्स

५ मंसिर २०८०, मंगलवार १६:४१

नीति बनाएर अव नेपाली बिद्यार्थीलाई देशमै राख्नछौं : प्रधानमन्त्री


काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति बनाएर अव नेपाली बिद्यार्थीलाई देशमै राख्ने दावी गर्नुभएको छ । मंगलबार काठमाडौंमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उदघाटन गर्दै प्रधानमन्त्रीदाहालले यस्तो बताउनु भएको हो ।

उहाँले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाएर स्वदेशमै बिद्यार्थी राख्ने प्रधानमन्त्रीले बताउनु भयो । उच्च शिक्षाका निम्ति बर्सेनी लाखौं विद्यार्थी विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक रहेको उहाँले बताउनु भयो ।

यस्तै शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीको विदेश पलायन रहेको निश्कर्ष उहाँको थियो । विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्व विद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिट्टै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बनेको प्रधानमन्त्री दाहालको भनाई छ ।

‘देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ ? भन्ने सवाल आजको हाम्रो देशको महत्वपूर्ण सवाल रहेको छ । उच्च शिक्षाका निम्ति बर्सेनि लाखौं विद्यार्थी विदेशिने परिस्थितिले हाम्रो शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक छ । यसै अवस्थालाई मध्यनजर गर्दै सरकारले विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गरिसकेको छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ’शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या भनेको युवा विद्यार्थीको विदेश पलायन हो भन्ने बुझेका छौं । विद्यार्थी देश बाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालय खाली हँदै जाने गम्भीर स्थितिलाई छिट्टै सम्बोधन गरी यस पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बन्न गएको छ ।’

प्रधानमन्त्री दाहालले यसमा बौद्धिक समुदायको गम्भीर विचार विमर्श आवश्यक रहेको बताउनु भयो । विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्रै बाहिरएको नभएर देशको ढुकुटी पनि बाहिरिँदै गएको भन्दै उहाँले थप्नुभयो, ’यसलाई रोक्न छिटो भन्दा छिटो शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई यहाँका विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने छ । साथै विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकियो भने मात्र अहिलेको स्थिति बदल्न सकिन्छ ।’

प्रधानमन्त्री दाहालले शिक्षा नीतिलाई युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।