काठमाडौं, मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ को निर्वाचनपछि एमालेको एकल बहुमतको सरकार बन्ने उदघोष गर्नुभएको छ ।
मधेश प्रदेशस्थित पर्साको पोखरियामा आज आयोजित आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो उदघोष गर्नुभएको हो । आगामी ०८४ को निवाृचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने भन्दै अध्यक्ष ओलीले सो निर्वाचनमा एमालेलाई कुनै पनि शक्तिले हराउन नसक्ने गरी मजबुत बनाउने अठोट गर्नुभयो ।
पार्टीलाई थप मजबुत बनाउन एमालेले अहिले देशभर संगठन विस्तारको अभियान चलाइरहेको जानकारी पनि ओलीले दिनुभयो । ’आउँदो चुनावमा कँही पनि र कसैले पनि एमालेलाई हराउन नसक्ने गरी मजबुत पार्टीको रुपमा विकास गर्दैछौं, मिसन ०८४ भनेको एमालेको विजयपताका फहराउने चुनाव हुनेछ,’ सभामा अध्यक्ष ओलीले भन्नुभयो, ‘आगामी चुनावमा एमालेले एकल बहुमत ल्याउने छ, एकल बहुमतको सरकार बनाउनेछ, त्यो सरकारमा सहभागी गराउनेछ, एमालेका नीति, विकासका नीति, देशभक्तिका नीति, राष्ट्रियता जोगाउने नीति, देशको स्वाधिनता र स्वतन्त्रतामा गर्व गर्ने र त्यसलाई कार्यान्वयन गर्ने नीति, सुशासनको नीति, विकासको नीति, भ्रष्टाचार अन्त्य गर्ने नीति, असमानता र विभेद अन्त्य गरेर सामाजिक न्याय र समानताका आधारमा सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता कायम गरेर सिंगै देशको विकास गर्ने नीतिमा सहमत हुने दलहरु, गौरवपूर्ण विदेश नीति मान्नेहरुलाई सहभागी गराइनेछ ।’
अध्यक्ष ओलीले छिमेकी मुलुकहरूसँग दबिएर होइन, समान हैसियत बनाएर अगाडि बढ्ने नीति मान्ने दलहरुलाई एमालेको नेतृत्वमा बन्ने सरकारमा सहभागी गराइने जानकारी पनि दिनुभयो । उहाँले एकताबद्ध भएर काम गर्ने हो भने आफूहरुको जितलाई कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।
मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यी सबैबाट देशलाई बाहिर निकाल्न एमाले नेतृत्वको सरकार अनिवार्य आवश्यकता बनेको ओलीको भनाई छ । आफू नेतृत्वको एमाले सरकारले विकासका क्षेत्रमा असाधारण काम गरेको भन्दै उहाँले बाटोमा हिँड्दा पनि एमालेको सरकारले गरेका ठूलाठूला काम फेला पर्ने तथ्य औंल्याउनु भयो ।
एमालेले बनाएको हुलाकी राजमार्ग हुँदै आफू पर्सा आएको अध्यक्ष ओलीले सुनाउनु भयो ।अमलेखगञ्ज मोतिहारी पेट्रोलियम पाइपलाइनको काम आफू प्रधानमन्त्री हुँदा गरेको अध्यक्ष ओलीले बताउनुभयो । एमालेले सरकार छोडेपछि विकास निर्माण ठप्प रहेको र सुरुआत भएका काम पनि अलपत्र पारिएको भन्दै ओलीले त्यो काम पूरा गर्न एमालेकै सरकार अनिवार्य रहेको बताउनु भयो ।
अध्यक्ष ओलीले एमाले सिसाको गिलास नभएर बिशेष इस्पात भएको तथ्य पनि सुनाउनु भयो । गठबन्धनको अकर्मण्यता, निष्क्रियताका कारण देश २ वर्ष रसातलमा पुगेको भन्दै उहाँले त्यसको विरोधमा एमालेका युवा संगठनले काठमाडौंमा प्रदर्शनबाट सुरु गर्न लागेका बताउनुभयो ।
दुर्गा प्रसाईंलाई नयाँ तत्वको सिखण्डीको संज्ञा दिँदै उहाँले ती तत्वसँग एमालेलाई मतलब नरहेको बताउनुभयो । एउटा सिखण्डीलाई अगाडि सारेर विभिन्न तत्वहरु त्यसका पछाडि कुँदिरहेका अध्यक्ष ओलीको भनाई छ । ’कोही सिखण्डी अगाडि सारेर विभिन्न तत्वहरु त्यो सिखण्डीका पछाडि लागेर नेकपा एमालेको फलानो व्यक्तिसँग लडाइँ भनिरहेका छन्, त्यस्तो व्यक्तिहरु हामी गन्दा पनि गन्दैनौं, देख्दा पनि देख्दैनौं, सुन्दा पनि सुन्दैनौं, हामी त अहिलेको गठबन्धन, त्यसको निष्क्रियता, अकर्मण्यता, बुद्धिहीनता, त्यसको क्षमताहिनता, त्यसले यो अढाइ वर्षमा यो देशलाई रसातलमा पु¥यायो त्यसको विरोधमा अगाडि बढ्दैछौं,’ अध्यक्ष ओलीले भन्नुभयो ।
एमाले विरुद्ध सक्रिय केही तत्वले सोही दिन नै प्रदर्शन गर्ने तयारीमा रहेका भन्दै अध्यक्ष ओलीले ती तत्वलाई एमालेले नचिन्ने बताउनुभयो । एमालेलाई कसैले टसमस पार्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, ’केही तत्वहरु बढो फुर्ति लगाएर युवा संघलाई त यसै पेल्न सकिएला भनेर देशभरीबाट गाडी रिर्जभ गरेर काठमाडौंमा मान्छे थुपार्दैछन्, एमाले सिसाको गिलास होइन, कतै ठोक्कियो कि फुटिहाल्ने, एमाले त्यस्तो इस्पात हो, जुन घनले हान्दा पनि बांगिदैन, यस्ताउस्ता कुरासँग एमालेले मतलब गर्दैन ।’
राणा शासन, निरकुंशता र पञ्चायतसँग लडेर आएको र राजतन्त्र फालेको एमाले झिनामसिना तत्वसँग नडराउने उहाँले प्रष्ट पार्नुभयो । उहाँले अव मुलुकमा राजतन्त्र फर्किनै नसक्ने ठोकुवा पनि गर्नुभयो । सामन्ती र शोषक संस्था राजतन्त्रलाई नेपाली जनताले बैंसमै पछारेर सिध्याइदिएका भन्दै उहाँले त्यसलाई ब्युताउँने सपना नदेख्न चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ’कृषिमा आधुनिकीकरण र व्यवसायिकीकरण हुन सकेको छैन, उद्योग छैन, व्यापार छैन, रोजगारीका अवसरहरु छैनन्, युवाहरु बाहिर गइरहेका छन्, यो अत्यासलाग्दो स्थिति देशमा छ, यो स्थितिबाट देशलाई मुक्त गर्न अरुले सक्दैन, एमाले नेतृत्वको सरकार नै आवश्यक छ ।’ देशको अर्थतन्त्र ध्वस्त अवस्थामा रहेको भन्दै अध्यक्ष ओलीले मंसिर १०–११ गतेतिर देशको अर्थतन्त्रबारे जानकारी दिन सभा आयोजना गरिने जानकारी समेत दिनुभयो ।
देशमा विकास निर्माण ठप्प, अर्थतन्त्र डामाडोल, सबैतिर निराशा मात्रै रहेको भन्दै उहाँले त्यस स्थितिबाट देशलाई माथि उठाउन एमालेको सरकारको विकल्प नभएको बताउनुभयो । एमालेले किसान, कर्मचारी, शिक्षक, ज्येष्ट नागरिक, सडक बालकालिका, किशोरी सबैका लागि एमालेले काम गरेको उहाँले बताउनुभयो । आफू नेतृत्वको सरकारले देशमा विकास निर्माण लगायत सबै क्षेत्रमा असाधारण काम गरेको अध्यक्ष ओलीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्