काठमाडौं, मंसिर ५ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ ।
समूह ‘एच’ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार साँझ भएको खेलमा नेपाल यमनसँग २–० गोलले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो । एकसाता अघि समूहको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग उसैको मैदानमा ४–० गोलले पराजित भएको थियो ।
घरेलु मैदानमा १३ हजार सात सय ३५ दर्शकको साथ पाएको नेपाली टोलीले दोस्रो हाफमा गोल खाएको थियो । पहिलो हाफमा औसत प्रर्दशन गरेको नेपाल दोस्रो हाफको अन्तिम २० मिनेट सम्हालिन नसक्दा पराजीत हुनुपर्यो ।
यमनको जितमा दुवै गोल दोस्रो हाफमा वैकल्पिक खेलाडीबाट सम्भव भयो । ओमार अब्दुल्लाह अलदाहीले ७२औँ र मोहम्मद अब्दुल्लाह अलदाहीले ९०औँ मिनेटमा गोल गर्दै यमनलाई महत्वपूर्ण जित दिलाए ।
ओमारले डिबक्स छेउबाट नेपालका चार रक्षकलाई छल्दै उत्कृष्ट गोल गरेको थिए । जसलाई नेपालका गोलरक्षक किरण चेम्जाङले नियाल्न सकेनन । पहिलो गोलपछि अत्तालिएको नेपालले अन्तिम समयसम्म दबाब झेलेको थियो ।
समूहमा दुई खेल खेलेको यमनको यो पहिलो जित हो । यसअघिको खेलमा यमन बहराइनसँग २–० गोलले पराजित भएको थियो । जितसँगै यमनले तीन अङ्क बनाएको छ । नेपाल अङ्कबिहिन छ ।
यसै खेलबाट नेपालका राजेश परियारले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन । राजेश ७२औँ मिनेटमा अञ्जन विष्टको स्थानमा मैदान प्रवेश गरेका थिए । दोस्रो चरणको छनोट खेलअन्तर्गत यस समूहमा नेपालसँगै यमन, युएई र बहराइन छन् । समूह विजेता र दोस्रो हुने टोलीले विश्वकप छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्