जनता टाइम्स

८ मंसिर २०८०, शुक्रबार १३:५६

केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता : लगातार दोस्रो जितसहित सेमिफाइनलमा पुग्यो वाग्मती


पोखरा, मंसिर ८ । वाग्मती प्रदेश प्रथम केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

पोखरामा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै वाग्मती सेमिफाइनलमा पुगेको हो । पोखरा क्रिकेट मैदानमा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा वाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्यो।

वाग्मतीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १७ ओभर ३ बलमा अलआउट हुँदै ९९ रन मात्र जोड्न सक्यो । कर्णालीका लागि अर्जुन घर्तीले २४ रन र कप्तान रविन्द्र शाहीले २० रन जोडनुबाहेक अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन।

कर्णालीलाई ९९ रनमै अलआउट गर्न वाग्मतीका सन्दीप लामिछानेले ४ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको वाग्मतीले ६ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । उसका लागि रित गौतमले ८२ र इशान पाण्डेले ७० रन बनाए ।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३ तथा दिवान पुन र अनुज चनराले समान १–१ विकेट लिए । यसअघि बिहीबार भएको आफ्नो पहिलो खेलमा वाग्मतीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी (रातो) लाई १०९ रनले पराजित गरेको थियो ।