काठमाडौं, मंसिर ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बल्खुमा तीन-चार हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको भन्दै ब्यंग्य गर्नुभएको छ । राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन भएपनि सरकारको जग नभएको बताउनु भयो ।
‘हिजो बल्खुमा भोलि उठि कहाँ जाने थाहा छैन भन्ने खालका । कहाँ हिँड्या हुन थाहा छैन । केका लागि हिँड्या थाहा छैन । के माग हो ? के नारा हो ? थाहा छैन । हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आए । यो सरकार त्यतिकैमा थर्कमान् छ । तीन-चार हजार मान्छे यसो हेर्न आए होलान । जग नै नभएको सरकार भएकाले अहिले थर्कमान छ । एउटा किलो गाडेको छ भने हल्लिँदैन । यसो थेप्चो थेप्चो पारेर राखेको छ भने हावा आएर पनि ढलिहाल्छ । यो सरकार त्यस्तै हो । गठबन्धन छ । जरा छैन,’ ओलीले भन्नुभयो ।
दुर्गा प्रसाईंको आन्दोलनबाट सरकार थर्कमान भएको पनि अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ’हिजो बल्खुमा कहाँ हिँडेका हुन् थाहा छैन, के माग हो, के नारा हो केही थाहा छैन, ३–४ हजार मानिस के जम्मा भएका थिए, यो सरकार त्यत्तिकैमा थर्कमान छ, किन भने यसको जगै छैन, एउटा किलो गाडेको छ भने हल्लिँदैन, तेस्रो पारेको छ भने अलिअलि हावा चल्दा पनि ढलमलाउँछ, गठबन्धन छ जरा छैन ।’
दुर्गा प्रसाईंलाई देशलाई माया नगर्ने बिकाउ माल र धतंगाको संज्ञा दिँदै अध्यक्ष ओलीले साइकलको मूल्यसँग सार्वभौमसत्ताका कुरा गर्नेहरु देशप्रेमी हुनै नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ’एउटा धतंगाले नेपाललाई उता गाभ्यो भने साइकल सस्तो पाइन्छ, साग सस्तो पाइन्छ भनेछ, देशको माया नगर्ने बिकाउ मालहरुले यस्तो भन्छन्, साइकलको मूल्यसँग सार्वभौमसत्ता साट्ने कुरा गर्छन् ।’
राजतन्त्र ब्युँताउने सपना नदेख्न पनि अध्यक्ष ओलीले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ’कोहीकोही तत्व १५ वर्षअघि फालिसकेको राजतन्त्र फर्काउँछौं भन्दैछन्, मलाई लाग्छ, चेतनै नभएका मुर्खहरुले राजतन्त्र मान्छन्, जन्मिँदै राजा हुने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुन्छ भन्नु मुर्खता हो, राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालिदिएका हुन् ।’
उहाँले सामाजिक सद्भाव खल्बल्याउने र दण्डहिनतालाई प्रश्रय दिने काम गठबन्धन सरकारले गरिरहेको ठोकुवा पनि गर्नुभयो । उहाँले भन्नुभयो, ’विश्वविद्यालयमा सत्ता पक्षले नै तालाबन्दी लगाउँछ, गठबन्धनका भलाद्मीहरु (गुण्डाहरु) ले प्रोफेसरको ढाड भाँचिदिन्छन, यो त हाम्रो मान्छे हो थुन्न पर्दैन भनिन्छ, अदालतले भएपनि २ वर्ष थुन्ने आदेश दियो, म यसको स्वागत गर्छु, सत्ता स्वार्थका लागि कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई माफी दिने कुरालाई अदालतले रोकेको छ, यसमा खुशी छु, नेपाली जनता खुशी छन,’ ओलीले भन्नुभयो ।
आरती शाहकी आमा न्यायका लागि बस्दा सरकारले ब्यानर च्यात्न, धम्क्याउन प्रहरी परिचालन गरेको अध्यक्ष ओलीले बताउनुभयो । भाँडिएको राजनीतिलाई ठिक ट्रयाकमा ल्याउनुपर्ने भन्दै अध्यक्ष ओलीले आफूहरु पञ्चायत फाल्छौं भन्ने साहससाथ आफूहरुले राजनीति गरेको स्मरण गर्नुभयो । राजनीतिमा देखिएको विकृतिलाई सुसंस्कृतितिर फर्काउनुपर्ने उहाँले बताउनुभयो ।
जनतामा निराशा बढ्न खतरानाक भएको उहाँको भनाइ छ । उहाँले अहिले अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा हुँदा व्यवसायीहरुले सरकारको साथ पाउन नसकेको बताउनु भयो । सरकारले सत्ता स्वार्थको मान्छेको ज्यान लिने व्यक्तिहरुलाई छाडेकोप्रति अदालतले चालेको कदम स्वागतयोग्य भएको पनि उहाँले बताउनु भयो ।
ओलीले सरकार निकम्मा भएका कारण जनतामा निराशा छाएको बताउनुभयो । सरकारको ध्यान देश, जनता र विकासमा केन्द्रित हुनुपर्नेमा अन्यत्र केन्द्रित रहेकाले जनतामा निराशा छाएको उहाँको भनाइ थियो ।
सरकारले जनतामा आशावादी र आत्मविश्वास जगाउनुपर्नेमा उल्टै निराशा जगाउने गतिविधि गरिरहेको अध्यक्ष ओलीले बताउनुभयो । एमालेले छाडेपछि कुनै विकास निर्माण नभएको भन्दै उहाँले त्यही कारण जनतामा निराशा रहेको बताउनुभयो ।
माओवादी हिंसाका कारण युवाहरु विदेश जानुपरेको पनि अध्यक्ष ओलीले बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी काम र संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउनुपर्नेमा सरकारले हिंसाको महिमागान गाएर बसेको उहाँले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिंसा दिवसमा बिदा दिने निर्णय गरेर हिंसालाई पश्रय दिन खोजेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।
युवाहरुलाई निराशाबाट बाहिर निकाल्नुपर्ने र त्यसको अगुवा एमालेका नेता–कार्यकर्ताले गर्नुपर्ने उहाँले बताउनुभयो । देशको अप्रेसन गर्नुपर्ने बेला भएको भन्दै उहाँले चिन्ता नलिन र सिर्जनात्मक काम गर्न सुझाव दिनुभयो । विद्वान पुर्खामा रहेको जेनेटिक मेमोरी रहेका नेपाली युवा निराशा हुन नहुने भन्द अध्यक्ष ओलीले सानो भएपनि उद्यम गर्न सुझाउनुभयो ।
गठबन्धन सरकारका कारण युवा विदेश पलायन बढेको, देशको अर्थतन्त्र ओरालो लागेको, जनतामा निराशा छाएको, व्यापार व्यवसाय ठप्प रहेको र देश निक्कै गम्भीर अवस्थामा रहेको उहाँले बताउनुभयो । २० सालसम्म बाटो नबन्नु विकास नहुनुको कारण राजतन्त्र भएको भन्दै अध्यक्ष ओलीले नेपालमा बरु राणाले विकास गरेका तर राजाले केही नगरेका बताउनुभयो ।
देशको हितमाथि प्रश्न उठ्दा युवा संघ मैदान उत्रिएर खबरदारी गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । देश संकटमा परेका बेला हामी छौं भनेर युवा संघ हिजो बोलेको भन्दै अध्यक्ष ओलीले धन्यवाद दिनुभयो । युवा संघ र युथ फोर्सले आफूलाई जतिबेला पनि तयार अवस्थामा राख्नुपर्ने बताउनुभयो । युवा संघ एमालेको काँइलो छोरो र छोरी भएको भन्दै उहाँले युवा संघले झलक मात्रै देखाएको बताउनुभयो । अध्यक्ष ओलीले प्रश्न गर्नुभयो – ’युवा संघले एक झलक मात्र देखाएको छ, सिंगै एमाले उठ्यो भने के हुन्छ ? सिंगै युवा संघ उत्रियो भने के हुन्छ ?’
युवा संघलाई अनुशासित हुन तर आइलाग्नेमाथि जाइलाग्न पनि उहाँले निर्देशन दिनुभयो । जे पनि सहने भन्ने कुरा सह्य नहुने अध्यक्ष ओलीले बताउनुभयो । निष्ठाको राजनीति गर्न र पार्टीप्रति विश्वास गर्न पनि उहाँले युवा संघलाई निर्देशन दिनुभयो । एमाले खानका लागि नभएर काम गर्नका लागि बनेको पार्टी भएको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्