जनता टाइम्स

८ मंसिर २०८०, शुक्रबार १७:४१

एमालेले केन्द्रीय कमिटीको अभिलेखबाट हटायो यी ७ जना नेताको नाम


काठमाडौं, मंसिर ८ । नेकपा एमालेले प्रदेश अधिवेशनमा उम्मेदवार बन्ने सवै केन्द्रीय कमिटी सदस्यलाई बिदा दिएको छ ।

बुधवार सम्पन्न केन्द्रीय कमिटी बैठकमा एमालेले प्रदेश अधिवेशनमा उम्मेदवार बनेका केन्द्रीय कमिटी र पोलिटब्यूरो सदस्यमध्ये निर्वाचित अध्यक्षहरुलाई मात्रै सहभागी गराई बाँकीलाई बिदा दिएको हो ।

यसरी बिदा हुने केन्द्रीय सदस्यमा अध्यक्षमा उम्मेदवार बनेर अन्तिम समयमा फिर्ता लिएका नेतासमेत परेका छन । कर्णालीमा अध्यक्षमा उम्मेदवार बन्नुभएका केन्द्रीय सदस्य प्रेमबहादुर सिंहको नामसमेत एमालेले केन्द्रीय कमिटी सदस्यबाट हटाएको छ । सोही कारण केन्द्रीय कमिटीका छैटौं बैठकमा सहभागी हुन आउनुभएका कालिकोटका नेता सिंह बैठकमा सहभागी हुन पाउनु भएन ।

केन्द्रीय सचिवालयले सिंहको उम्मेदवार कर्णाली प्रदेश कमिटीको अध्यक्षमा कायम रहेको कारण जनाएर हटाएको छ । सिंहले भने अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको निर्देशनपछि आफूले उम्मेदवारी फिर्ता लिएको दावी गर्नुभएको थियो । तर निर्वाचन समितिले बुझाएको उम्मेदवारको सूचीमा सिंह कायम रहेको देखिएपछि हटाइएको एमाले केन्द्रीय कार्यालयले जवाफ दिएको छ ।

प्रदेश अधिवेशनमा उम्मेदवार बनेर निर्वाचित भएका बागमति अध्यक्ष कैलाश ढुंगेल र कर्णालीका अध्यक्ष गुलावजंग शाह पोलिटब्यूरोको पदने सदस्य बन्नुभएको छ । शाह पोलिटब्यूरो सदस्य भए पनि प्रदेश अध्यक्षमा निर्वाचित भएपछि पदने हुनुभएको हो । यस्तै प्रदेशमा उम्मेदवार बन्नुभएका केन्द्रीय सदस्यहरु कोशीका बिनोद ढकाल, बागमतिका कृष्णप्रसाद दाहाल, गण्डकीका मायानाथ अधिकारी, लुम्बिनी हरि रिजाल, कर्णालीका मीनबहादुर शाही र प्रेमबहादुर सिंहको नाम केन्द्रीय सदस्यको सूचीबाट हटाइएको हो ।

एमाले केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकले प्रदेश अधिवेशन अगावै प्रदेश कमिटीमा उम्मेदवार कायम रहने केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य स्वतः पदमुक्त हुने निर्णयसहित अन्तर पार्टी निर्देशन जारी गरेको थियो ।

एमाले केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय सदस्य सिंहले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुँदासम्म अध्यक्षको उम्मेदवार कायम रहेकोले स्वतः मुक्त भएको जनाएको छ । मधेश प्रदेश, सुदुरपश्चिम प्रदेश र उपत्यका बिशेष प्रदेशमा भने केन्द्रीय कमिटीबाट उम्मेदवार परेको थिएन ।