जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार ०८:५५

प्रदेश–१ को स्थायी राजधानीको टुंगो लगाउन प्रस्ताव पेश हुदै


विराटनगर, वैशाख २२

प्रदेश १ को स्थायी राजधानीको टुंगो लगाउनका लागि आज प्रदेश सभामा प्रस्ताव प्रस्तुत हुने भएको छ । चार दिन अघि नै प्रस्ताव पेस हुने भनिए पनि सहमतिका लागि थप छलफल आवश्यक भएको भन्दै आजका लागि मिति सारिएको थियो ।

प्रदेशसभाको बैठक आज १ बजेका लागि बोलाइएको छ । सभामुखको निर्देशनमा संसद सचिवालयले प्रस्ताव पेस गर्नका लागि मिति सार्दै सूचना जारी गरेको थियो । सत्तारूढ दल नेकपाले तत्कालका लागि राजधानीको मात्र टुंगो लगाउने निर्णय गरेको थियो । प्रदेशको नामका लागि भने केही समय लाग्ने भएको छ । नामको प्रस्ताव तत्कालका लागि स्थगन गर्ने नेकपाले निर्णय गरेको थियो ।

प्रदेशसभाको बैठक बस्नुअअघि नेकपा संसदीय दलको बैठक बसेर राजधानीका विषयमा आज अन्तिम छलफल गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार मुख्यमन्त्री शेरधन राईले यसै विषयमा सहमति जुटाउन प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय वैठक बोलाउने तयारी समेत गर्नु भएको छ । पर्याप्त पूर्वाधार, राजनीतिक, आर्थिक लगायत क्षेत्रमा अग्रणी रहेको विराटनगरलाई नै स्थायी राजधानी तोकिनुपर्ने माग विभिन्न क्षेत्रबाट उठ्दै आएको छ । सत्तारूढ दलले छलफलमा ल्याएको जस्तो राजधानीका संरचना विकेन्द्रीत रूपमा राख्ने कुराको विरोध हुँदै आएको छ ।