जनता टाइम्स

२२ मंसिर २०८०, शुक्रबार ११:२३

समस्यामा परेका व्यवसायीलाई राष्ट्र बैंकले गर्यो सम्बोधन, ब्याजदर घटाउनेदेखि ऋणमा पुनर्तालिकीकरणसम्म


काठमाडौं, मंसिर २२ । नेपाल राष्ट्र बैंकको समयमै ऋण तिर्न समस्या परेका व्यवसायीहरूलाई राहत पुग्ने गरी मौद्रिक नीतिको पहिलो समीक्षा जारी गरेको छ।

शुक्रबार गरिएको समीक्षा अनुसार परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने उल्लेख गरिएको हो।

तर, बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरू उपरको कारबाहीलाई थप प्रभावकारी बनाउने बताइएको छ। समस्यामा परेका व्यवसायीलाई १० प्रतिशत कर्जा भुक्तानी गरी कर्जाको पुनर्संरचना गरिने भएको हो।

‘समस्यामा परेका ऋणीहरूबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको १० प्रतिशत रकम असुल गरी कर्जा पुनरसंरचना गर्न सक्ने अवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनर्संरचना गर्न सक्ने क्षेत्रहरूको विस्तार गरिने छ,’ समीक्षामा भनिएको छ।

बजारमा पुँजी प्रवाह बढाउन घटायो नीतिगत ब्याजदर

राष्ट्र बैंकले बजारमा पुँजी प्रवाह बढाउन मौद्रिक उपकरणहरूलाई खुकुलो बनाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा सीमित पारेको छ।

बैंकहरूमा तरलता अभाव हुँदा सापटी लिन प्रयोग गरिने दरहरू घटाएको हो। बैंकहरूले राष्ट्र बैंकमा राख्ने निक्षेपमा पाइने ब्याज समेत घटाइएको छ।

राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरेको हो। त्यस्तै, बैंक तथा वित्तीय संस्थाले निष्कासन गरेको डिवेन्चरको ५० प्रतिशत रकम समेत २०८१ असारसम्मका लागि स्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था गरिदिएको छ।

यसअघि २०८० पुससम्मको लागि स्रोतको रुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेको थियो। यो नीतिलाई केही संशोधन सहित निरन्तरता दिइएको हो।

बैंकहरूले राष्ट्र बैंकका राख्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखेको छ।

कतिपय व्यवसायीहरूले भने बैंकले राष्ट्र बैंकमा राख्नु पर्ने रकम अनिवार्य नगद मौज्दात समेत एक प्रतिशत बिन्दुले घटाउनु पर्ने माग राख्दै आएका थिए।