जनता टाइम्स

२३ मंसिर २०८०, शनिबार ११:२३

एमाले सरकारमा आउला र विकासको काम गर्ला भनेर केही शक्ति आतङ्कित भएका छन : केपी ओली


गोरखा, मंसिर २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा छिटोभन्दा छिटो पूर्वाधार निर्माणको काम गर्न आवश्यक रहेको बताउनु भएको छ ।

नेकपा एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा शनिबार गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओली जति छिटो पूर्वाधार निर्माणको काम गर्न सक्यो त्यति नै छिटो नेपालको विकासले गति लिने बताउनुभयो । नेपाली जनताको तीव्र विकासको आकाङ्क्षा रहेको अध्यक्ष ओलीले बताउनुभयो ।

‘यो जनतालाई सुविधा, असुविधाको कुरा मात्र होइन, यो विकाससँग जोडिएको छ, उन्नतिसँग जोडिएको छ, यो आधुनिकतासँग जोडिएको छ’, उहाँले भन्नुभयो । ओलीले आफू सरकारबाट हटेपछि विकासको काम पनि रोकिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेपालका परियोजना नेपालाई फाइदा हुने गरी जुन देशले बनाउँछु भन्छन, त्यही देशलाई दिनुपर्ने ओलीले प्रष्ट पार्नुभयो ।

‘नेपाललाई फाइदा जहाँबाट पाउँछ, त्यहीबाट लिन्छौँ’, ओलीले प्रष्ट भाषामा भन्नुभयो । एउटा छिमेकीलाई परियोजना दिनै पर्ने अर्कोलाई दिनै नहुने भन्ने हुन नसक्ने ओलीले बताउनुभयो । एउटा आयोजना नबनाएर अलपत्र पार्नेलाई फेरी अर्को आयोजना बनाउन दिन नहुने उहाँले प्रष्ट पार्नुभयो ।

अहिलेको अवस्थामा नेपाल सरकार आफैँले ठूला ठुला आयोजनाको काम गर्न नसक्ने उहाँले बताउनुभयो । कर्मचारीलाई तलब खुवाउनै ऋण लिने सरकारले कर्णाली जस्ता ठुला आयोजना हामी आफैँ बनाउँछौँ भन्ने कुरा गफ मात्रै हुने उहाँको भनाइ छ । ‘आगामी केही वर्षसम्म नेपालले आफैँले बनाउने भन्ने कुरा त्यति सम्भव छैन, हामीले अलि सम्भव हुने कुरा गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

ओलीले बुढी गण्डकी जलविद्युत आयोजना अब बनाउनै पर्ने बताउनुभयो । मुआब्जाको रूपमा ७६ अर्ब रुपैँया सरकारले तिरिसकेको यो आयोजनाको काम अब रोक्न नहुने ओलीले प्रष्ट पार्नुभयो । तर सरकारले काम सुरु नगर्दासम्म नागरिकले जग्गा बाँझो छोड्न नपर्ने ओलीले बताउनुभयो । अधिग्रहण गरिएको जग्गामा काम सुरु नहुँदासम्म खेती लगाएर खान मिल्ने उहाँको भनाई छ ।

गोरखाको गोरखकाली रबर उद्योगलाई बचाउनु पर्छ भनेर नेकपा एमाले लागिरहेको ओलीले बताउनुभयो । तर केही तत्त्वले सो उद्योग चल्न नदिएको ओलीले प्रष्ट पार्नुभयो । जस्तोसुकै इञ्जिनको गाडी आए पनि टायर, ट्युब सधैँ आवश्यक पर्ने ओलीले बताउनुभयो । देशमा नै उद्योग सञ्चालन हुँदा देशमा पैसा बस्ने कुरा सबैले बुझ्नु पर्ने उहाँको भनाइ छ ।

ओलीले राजनीतिक दलले काममा प्रतिस्पर्धा गरेर देखाउनु पर्ने बताउनुभयो । नेपालका काम ठुला ठुला काम गरेर विकासको गतिलाई अघि बढाउनेलाई सबै मिलेर सरकारबाट हटाउने गरिएको ओलीले गुनासो गर्नुभयो । प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने ओलीको भनाइ छ ।

अहिले एमाले सरकारमा आउला र विकासको काम गर्ला भन्ने डर गठबन्धनमा रहेका राजनीतिक दललाई भएको ओलीले बताउनुभयो । ‘किन आतंक छ भने एमाले सरकारमा आयो भने त पहिलेका अनुभव छँदै छन्, त्यो भन्दा बढी पहिले भन्दा बढी जोडले काम गर्छ, यही परेको छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा ओलीलाई गोरखाका राजनीतिक दलहरूको तर्फबाट सर्वदलीय माग–पत्र हस्तान्तरण गरिएको थियो । ओलीले माग–पत्रको सन्दर्भमा नेकपा एमाले गम्भीर रहेको बताउनुभयो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरु, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि सङ्कल्प यात्रामा हुनुहुन्छ ।

बैतडीको झुलाघाटमबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।