जनता टाइम्स

२४ मंसिर २०८०, आईतवार २१:२९

घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन : केपी ओली


बनेपा, मंसिर २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सबैले मिलेर बनाउनु पर्ने बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अन्तर्गत आइतबार काभ्रेको धुलिखेल पुग्नु भएका ओलीले अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार एलाइन्सले आयोजना गरेको कार्यक्रममा बोल्दै कुनै जात विशेषले यो मेरा जातको राज्य हो भन्न नहुने बताउनुभयो । देश कुनै जात विशेषका नहुने बताउनुभयो । नेपाल विविधता बिचको एकताको मुलुक भएको उहाँले प्रष्ट पार्नुभयो ।

कुनै जात वा समुदाय विशेषको कुरा गर्दा देश अघि बढ्न नभई ढुङ्गे युग तिर नै फर्कने उहाँले बताउनुभयो । जातको आधारमा हुने बसै खालका विभेद अन्त्य हुने पर्नेमा ओलीले जोड दिनुभयो । ‘आपसमा घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन’, उहाँले भन्नुभयो ।

कोशीमा कसैलाई पनि पस्न दिन्न भन्नेलाई देश कसैको बिर्ता होइन भन्दा केपी ओलीले उत्तेजना फैलाउने काम गर्‍यो भन्दै लेखिएको बताउँदै चिहान खन्दै छु भन्नेका बारेमा केही नलेखेको प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । ‘कोही कसैको शत्रु नबनौँ, नेकपा एमाले पछौटेपनलाई शत्रु मान्छ, अविकासलाई शत्रु ठान्छ’, उहाँले भन्नुभयो ।

नेपालमा विकास गर्न सकिने र नेकपा एमालेले गरेर देखाउने ओलीले बताउनुभयो । त्यसैका लागि एमालेले अभियान सञ्चालन गरेको ओलीले प्रष्ट पार्नुभयो ।

माओवादीले आन्दोलनका लागि जातीय राज्यको हुँडलो मच्चाएको उहाँले बताउनुभयो । हिंसा भड्काउने र घृणा फैलाउने खालका कुरा रोक्नु पर्ने ओलीको भनाइ छ । ‘देश अप्ठेरोमा छ’, ओलीले भन्नुभयो ।

ढुङ्गा हान्ने कुरा मानव अधिकार भित्र नपर्ने उहाँले बताउनुभयो । त्यसैले ढुङ्गा हान्ने कुरा होइन बसेर छलफल गरौँ ओलीले भन्नुभयो । उहाँले देशभक्तिपूर्ण बाटोमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।