एजेन्सी, २५ मंसिर । विभिन्न गलत कामहरुमा समेत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग सुरु भएको छ । ग्राफिका नामक एक सोसल नेटवर्क विश्लेषण कम्पनीले यसको खुलासा गरेको छ । कम्पनीले तयार पारेको रिपोर्ट अनुसार आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट महिलाहरुका नग्न तस्वीर तयार पार्ने एप तथा वेबसाइटहरुको लोकप्रियता तीव्र रुपमा बढिरहेको छ ।
ग्राफिकाका अनुसार गत सेप्टेम्बर महिनामा २ करोड ४० लाख प्रयोगकर्ताले यस्ताखाले वेबसाइटहरु हेरेका छन् । त्यसमध्ये अधिकांशमा निर्वस्त्र पार्ने सर्भिसको मार्केटिङका लागि लोकप्रिय सोसल मिडिया नेटवर्कहरुको प्रयोग भैरहेको छ । यो वर्षको सुरुवातदेखि अहिलेसम्म सोसल मिडिया प्लाटफर्ममा यस्ता प्रकारका विज्ञापनहरुमा २४ सय प्रतिशतको वृद्धि देखिएको छ ।
सोसल मिडिया प्लाटफर्महरु रेडिट तथा एक्समा समेत त्यसको प्रचार भैरहेको छ । निर्वस्त्र तस्वीर तयार पार्ने त्यस्ता एप तथा वेबसाइटहरुले एआईको प्रयोग गरेर तस्वीरलाई पुनर्सिर्जना गर्दछन् । जसमा तस्वीरमा रहेको व्यक्तिका कपडाहरु हटाइन्छ । तीमध्ये अधिकांश सर्भिसहरुले केवल महिलाहरुको तस्वीरमा मात्रै काम गर्दछन् ।
यी एपको सहयोगमा कसैको अश्लील तस्वीर तथा भिडियोहरु तयार पारेर त्यसलाई प्लाटफर्महरुमा वितरण गर्न सकिन्छ । यी एपहरुले एआईको सहयोगमा कुनै पनि व्यक्तिको आपत्तिजनक भिडियो तयार पार्न सक्दछन् ।
प्रतिक्रिया दिनुहोस्