जनता टाइम्स

२ पुष २०८०, सोमबार ०८:३१

जाडोसँगै चिसियो चलचित्रको व्यापार


काठमाडौँ, २ पुस । काठमाडौँको मौसम चिसिएसँगै नेपाली चलचित्रको व्यापार पनि चिसिन थालेको छ । एक त जाडो मौसम त्यसमाथि नयाँ राम्रा चलचित्र खासै प्रदर्शनमा आएका छैनन् । यो क्रम कहिलेसम्म जारी रहने हो भन्ने कुरा न कलाकारहरू भन्न सक्छन्, न हल सञ्चालक नै ।

दसैँतिहारको अवसरमा नेपाली चलचित्रले राम्रो व्यापार गरेको थियो । ‘परदेशी २’, ‘पशुपति प्रसाद २’, ‘भस्मे डन’ र ‘दिमाग खराब’ लाग्दा दर्शकहरूले हल भरिभराउ भएका थिए । त्यसअघि ‘नाङ्गो गाउँ’ र ‘एक भागवत एक गीता’ ले पनि दर्शकको साथ राम्रै पाएको थियो । चाडपर्वमा बिदाको फाइदा उठाउँदै धेरै चलचित्रले लगानी उठाउन सफल भएका छन् तर अहिले जाडो मौसमले गर्दा पनि हलहरू खासै भरिभराउ देखिँदैनन् ।

जाडो महिनामा खासै दर्शक हलमा नआउने गरेको निर्माता तथा आइएनआई सिनेमाज् एनबी सेन्टरका सञ्चालक दीपकराज गिरीले बताउनुभयो । अहिले नेपालीभन्दा पनि बलिउड र हलिउड चलचित्रमा नै दर्शकको आकर्षण बढेको उहाँको भनाइ छ । नेपाली चलचित्र चल्ने समय भनेको चैत, वैशाख, दसैँतिहार र तिज नै हो । यो जाडो मौसममा नेपाली चलचित्रलाई भने धौ धौ नै छ । अन्य चलचित्रभन्दा नेपाली चलचित्र चलेमा धेरै फाइदा हुने गिरीको भनाइ छ । बलिउड र हलिउडभन्दा नेपाली चलचित्र चल्दा मुनाफा धेरै हुने गिरीले बताउनुभयो ।

जाडो मौसम सुरु भएपछि आशा गरे अनुसारका चलचित्रहरू पनि खासै प्रदर्शन भएका छैनन् । नेपाली हलमा विदेशी चलचित्रले एकछत्र राज गरेका छन् । नेपाल चलचित्र सङ्घका महासचिव तथा रञ्जना चलचित्र भवनका सञ्चालक नरेन्द्र महर्जनको अनुभव भने अलि फरक खालको छ । उहाँ भन्नुहुन्छ, “चलचित्र भनेको मौसम अनुसार चल्ने होइन, चलचित्र राम्रो बन्यो भने त्यसलाई गर्मी या जाडो केहीले छुँदैन ।” अहिले नेपाली चलचित्र खासै प्रदर्शन भएका छैनन्, बलिउड र हलिउड चलचित्रले हलहरू चलेको महर्जनले बताउनुभयो । उहाँका अनुसार क्रिसमस र नयाँ वर्षमा पनि नेपाली चलचित्रभन्दा बलिउड र हलिउड चलचित्र कै दबदबा रहने गरेको छ ।

नेपालमा चलचित्र निर्माण गर्नु भनेको कि त मर कि त गर भने जस्तै हो । हिजोआज चलचित्रमा टन्नै लगानी लाग्ने गरेको छ । निर्माताले आफूले ठुलो रकम लगानी गर्दा पक्कै पनि प्रतिफलको आशा पनि राम्रै खोज्छन् । धेरैको भनाइ चलचित्रमा जति लगानी गरे पनि त्यो उठ्ने सम्भावना झिनो हुन्छ नै । चलचित्र बनाएर आफू डुबेपछि धेरै निर्माता त सडकमा आएका उदाहरण पनि छन् । एउटा चलचित्र फ्लप भएपछि फेरि अर्को बनाउने हिम्मत अहिले कमैले गर्छन् । त्यसैले पनि चलचित्र चल्नु भनेको भाग्यको खेला जस्तै हो ।