जुम्ला, २ पुस । जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित राजासिमा निर्माणाधीन रङ्गशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ ।
आयोजनाअन्तर्गत नगरपालिकाभित्रका एकीकृत सहरी पूर्वाधार विकास कार्यका भौतिक संरचनाको कामलाई अगाडि बढेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷८० देखि काम अघि बढेको हो । आयोजना प्रमुख सिंहका अनुसार उक्त काम २०८१ कात्तिकभित्र सक्नुपर्ने सम्झौता छ । नगरभित्रका विभिन्न भौतिक संरचनासहित रङ्गशाला निर्माणका लागि कूल रु ४० करोड ६२ लाखमा कविन्द्र निर्माण सेवा कम्पनी प्रालि काठमाडाँैसँग सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा रङ्गशाला नहुँदा खेलाडीलाई खेल खेल्न र अभ्यास गर्न सकस हुने गरेको छ । अबको दुई वर्षभित्र रङ्गशाला निर्माण भएपछि जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न सहज हुने निर्माण आयोजना कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो । कर्णाली प्रदेशकै नमूना रङ्गशाला हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालयले जनाएको छ ।
सेनाद्वारा पातारासीमा स्वास्थ्य शिविर सञ्चालन
यसैबीच नेपाली सेनाले जुम्लाको पातारासी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्लाको पूर्वी भेगमा पर्ने पातारासीमा सेनाको २४ बाहिनी अड्डाको आयोजना तथा नन्दा बक्स गण, पातारासी गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
नन्दा बक्स गणको व्यवस्थापनमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट यहाँको विपन्न समुदायलाई उपचारमा राहत पुगेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । सो स्वास्थ्य शिविरबाट एक सय २७ पुरुष र चार सय २१ महिला लाभान्वित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्