जनता टाइम्स

३ पुष २०८०, मंगलवार ११:१७

केपी ओलीको अठोटसँगै देश बनाउन गर्नैपर्ने यी काम


यस्तो अबस्थामा नेकपा एमाले मध्यपहाडी पुष्पलाल लोकमार्गमा झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामार्फत नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न सफल बनेको छ । राष्ट्रिय राजनीतिमा नयाँ तरँग ल्याएको छ । नयाँ र फरक ढंगले छलफल र बहश चलाएको छ । एमाले मात्र यो देशमा सुसान र समृद्धिको ग्यारेन्टी गर्न सक्ने पार्टी हो भन्ने सन्देश दिएको छ

टिका पौडेल

हामीले हाम्रो देशमा २४० बर्ष शासन गरेको सामन्तवादी राज्य व्यवस्था, राजतन्त्रलाई त ढालियो, फालियो तर सामन्ती चिन्तनलाई फाल्न सकिएन । त्यसलाई पालियो । बिभिन्न दलहरूले मार्क्सवादी– लेनिनबादी, माओबादी, समाजबादी जस्ता अनेकौं सिद्धान्त अँगालेका भएपनि सिद्धान्त अनुरूप ब्यबहारमा फरक गरियो । दर्शन, सिद्धान्त, ब्यबहारमा एकरूपता भएन,  भन्ने एउटा गर्ने अर्को भयो । त्यसैले आज ब्यबस्था परिबर्तन भएर पनि अवस्थामा समस्या देखापरेको छ ।

राज्य ब्यबस्था परिबर्तनपछि, जिम्मेवारीमा पुगेका केही सांसद, मन्त्री दलका नेता, कार्यकर्ताहरूमा समेत राजनीतिक संस्कार र संस्कृतिमा विचलन आयो । एकाएक उनीहरुको निजी जीबनमा अप्रत्याशित परिबर्तन भयो । त्यसैले एउटा राजा फालेर धेरै राजा आए, भए भनेर जनताले टिकाटिप्पणी गर्न लागे । जनताकै अगाडि बिभिन्न भ्रष्टाचारका काण्डहरु देखिन थाले, ती काण्डहरूमा दलका नेताहरु नै मुछिन थाले । राजनीतिक दलका केही नेताहरु, कार्यकर्ताहरु त्यसैमा संलग्न बनेको देखा पर्नथाल्यो । परिबर्तित राज्य ब्यबस्था, सरकार परिचालनमा पनि समस्या र कमजोरीहरु देखा परे । कानुनी राज्य र स्वतन्त्र न्यायपालिकाको धज्जी उडाउन थालियो । अपराधिक गतिविधिलाई राजनीतीको दोसल्ला र फुलमालाले ढाक्न थालियो ।

आजभोलि नेताहरु भन्दा पनि जनता जागरूक हुँदै गएका छन । राजनीतिक दलका नेता, सरकार, सांसद मन्त्रीहरुको हरेक गतिविधिबारे दिनप्रतिदिन अपडेट भइरहेका छन, गरिरहेका छन । उनीहरुको हिजोको आर्थिक अवस्था, आजको आर्थिक अवस्थालाई मापन गरिरहेका छन । कार्यक्षमता समेत देखेका, बुझेका र परीक्षित भैसकेका छन । यसले पनि जनतामा वितृष्णा देखिन थालेको देखिन्छ । अहिले केही मान्छेहरु तिनै वितृष्णाका भावनाहरुमा खेल्दैछन, परिबर्तन, बिकास र समृद्धिका भिजन, दृष्टिकोण बिना राजनीती गर्ने रहरको रोटी सेक्दैछन । कोही मरिसकेको ब्यबस्था ब्यूताउने सपना देख्दैछन । अन्ततः दुबैथरी धमिलो पानीमा माछा मार्ने दाऊमा छन । जे भएपनि समस्या त समस्या होनि !

यसलाई गम्भीर ढङ्गले लिनुपर्दछ । उपरोक्त समस्या कुन ब्यक्ति, कुन दलसँग ? कोसंग ? कति छ ? मात्रामा धेरैथोरै होलान । यदि ईमान्दार भएर देश बनाउने हो भनें सबैले आत्मसमीक्षा गर्दै कमी कमजोरीलाई सुधार गर्दै देशको बिकास र समृद्धिको यात्रामा लाग्नु पर्दछ । अब बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ब्यबस्थाभित्र रहेका, भएका कमजोरीहरुलाई आवश्यकता अनुरूप नीतिगत रुपमा सुधार, परिबर्तन गर्नुपर्दछ । जनतालाई परिबर्तनको प्रत्याभूती दिन सक्नुपर्दछ । राजनीतिलाई ब्यबसायमुखी होइन, सेवामुखी बनाउनु पर्दछ र बन्नुपर्दछ । राजनीति गर्नेले नाफा घाटाको हिसाबकिताब गरेर राजनीति गर्ने होइन । राजनीति कमाउन होइन देश बनाउन गर्ने उच्च योगदान हो ।

यसो हुन नसक्दा जनतामा दलहरूप्रति आक्रोश र वितृष्णा छाएको हो । फेरि सबैलाई सोलोडोलोमा एकै भन्न पनि त मिल्दैन । देशमा केहीपनि नभएको भन्ने पनि हुँदै होइन । भएको छ, हुँदैछ, अझ धेरै हुनुपर्दछ, गर्नुपर्दछ । तर जनअपेक्षा र दलहरुको प्रतिवद्धता पूरा नभएको भने अबश्य हो । नेकपा एमालेले आफू सरकारमा हुँदा नेपालकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारको पालामा होस वा केपी ओली नेतृत्वको सरकारको पालामा होस, धेरै राम्रो गरेको छ । अझ राम्रो गर्न लागेको थियो, राम्रो गर्न खोजिएको पनि थियो ।

एमाले नेतृत्वको शासनकालमा स्वर्ण अक्षरमा लेखिने गरी राष्ट्र र जनताको पक्षमा, जनमुखी, दीर्घकालीन महत्वका ऐतिहासिक उपलब्धिका कामहरु भएका थिए, गरिएका थिए, हुँदैथिए । त्यसैको कारण देशी–बिदेशी प्रतिक्रियाबादी शक्तिले एमालेबिरुद्ध घेराबन्दी गर्यो । नेपाललाई सधै अस्थिर, परनिर्भर र कमजोर बनाउन चाहने तिनै शक्तिले एमाले नेतृत्वको सरकारलाई काम गर्नै दिएनन, अन्ततः एमाले र माओबादी केन्द्र मिलेर बनेको नेकपा समेत विभाजन गरियो । एमाले बलियो हुँदा देश बलियो बन्छ । नेपाली कम्युनिष्ट आन्दोलन बलियो बन्छ भन्नेबारे प्रतिक्रियाबादिहरु स्पष्ट थिए । यथार्थ पनि यही थियो ।

अहिलेसम्म पनि एमालेबिरुद्ध चारैतिर घेराबन्दी कायम छ । जनताको लोकप्रिय मतमा एमाले देशको सबैभन्दा ठुलो पार्टी छ । तर जस्ट पास भएका, फेल भएकाहरुको नम्बर जोडेर फर्स्ट भएको दाबी गरेजस्तै गरी बिदेसी दबाबमा गठबन्धन सरकार बनाइएको छ । अब देश बनाउन कुरा जनताका सुनौं, बहस, बिकास र समृद्धिका गरौं । नेकपा एमालेले समृद्ध नेपाल ः सुखी नेपाली निर्माणको भिजन ल्याएको छ । यो देशको भबिश्य अब एमालेको काँधमा छ ।

अब एमालेले पनि आफूलाई आत्मसमीक्षा गर्नुपर्दछ । आवस्यकता अनुरूप करेक्सन, परिमार्जन गर्नुपर्ने ठाउँमा गर्नुपर्दछ । अब सबैले आआफ्नो ठाउँबाट भ्रष्टाचारबिरुद्ध लाग्नुपर्दछ, खबरदारी गर्नुपर्दछ । अब देश बनाउन, आत्मनिर्भरतामुखी स्वदेसी उत्पादनलाई महत्व दिनुपर्दछ । आयातमुखी बर्तमान परनिर्भरताबाट निर्यातमुखी बन्नुपर्दछ । त्यसै अनुरूपको नीती निर्माण गर्दै औद्योगिक विकास गर्नुपर्दछ । बिदेसी उद्योगपतीहरुलाई नेपालमा ‘मेक इन नेपाल’ को नीति बनाई लगानीमा आकर्षण र त्यसै अनुरूपको लगानीमैत्री बाताबरण बनाउनु पर्दछ । कृषिलाई निर्बाहमुखी अवस्थाबाट आधुनिकीकरण र ब्यावसायिकरण गर्नुपर्दछ । देशभित्र ब्यापक रोजगार सृजना गर्नुपर्दछ । युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नुपर्दछ । शिक्षा, स्वास्थ्य नीतिमा परिबर्तन गर्नुपर्दछ । क्रमशः देशलाई अर्थतन्त्रको बिकाससँगै समाजबाद उन्मुख बाटोमा अगाडि बढाउनु पर्दछ ।

बादलले सूर्यको प्रकाश ढाक्यो, रोक्यो, छेक्यो भनेर अब संसार अध्यारो भयो, उज्यालो हुँदैन भन्ने निष्कर्ष निकाल्ने होइन । बादल फाटेपछि सूर्यको प्रकाश आउँछ, छाउँछ । आशा गर्ने हो, आशा मार्ने होइन । जसरी मानब जीबन संघर्षमय हुन्छ । राजनीति पनि त्यस्तै हो । राजनीतीमा पनि निरन्तर संघर्ष भईरहनु पर्दछ । गलतको बिरुद्ध सही, सत्यको पक्षमा निरन्तर संघर्ष गरिरहनु पर्छ । न्यायको आवाज निरन्तर उठान गरिरहनु पर्दछ । हरेक कुराको सम्भाबना छ । देशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष राजनेता केपी शर्मा ओलीले आज सम्भाबनाका सपना देखाइरहनुभएको छ । नेपाली जनतामा उत्साह जगाइरहनु भएको छ । बर्तमान सरकारले राष्ट्र र जनताको हितमा केही गर्न सकेको छैन ।

सरकार काण्डैकाण्डको अखाड़ा बनेको छ । सरकारलाई देश बिकास र समृद्धि भन्दा पनि सरकार कसरी टीकाउने ? सरकारमा कसरी टिकिरहने ? एमालेलाई कसरी छेक्ने, कसरी कमजोर बनाउने ? भन्ने कुरामा मात्र चिन्तित देखिन्छ । अहिले बर्तमान गठबन्धन सरकारकै कारण देश झनझन कमजोर बन्दैछ । देशको अर्थतन्त्र ओरालो लागेको छ । यस्तो अबस्थामा नेकपा एमाले मध्यपहाडी पुष्पलाल लोकमार्गमा झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामार्फत नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न सफल बनेको छ । राष्ट्रिय राजनीतिमा नयाँ तरँग ल्याएको छ । नयाँ र फरक ढंगले छलफल र बहश चलाएको छ । एमाले मात्र यो देशमा सुसान र समृद्धिको ग्यारेन्टी गर्न सक्ने पार्टी हो भन्ने सन्देश दिएको छ ।

एमालेले १९ दिने समृद्धिको संकल्प यात्रा भब्यताका साथ सम्पन्न पारेको छ । ७१–७२ बर्षको उमेरमा दुईदुई पटक मृगौला प्रत्यारोपण गरेको आफ्नो जीर्ण शरीर बोकेर, आफ्नो स्वास्थ्य भन्दा पनि राष्ट्रको भबिश्यप्रति चिन्ता लिंदै, भोगौलिक प्रतिकुलता, मौसमी प्रतिकुलता, सीतलहर र अनेकौं अपठेराको बाबजूद पनि दिनरात, झरी, बादल, केही नभनी एउटा स्वस्थ युवा भन्दापनि सक्रिय बनेर, प्रतिदिन सयौं किलोमिटर यात्रा गर्दै बिभिन्न ठाउँमा जनतासँग प्रत्यक्ष भेटघाट, सम्वाददेखि जनताका समस्या सुन्ने, बुझ्ने, अन्तरक्रिया, छलफल र सम्बोधन गर्दै नेकपा एमालेका बिचारहरु राख्दै, एमाले अध्यक्ष राजनेता केपी शर्मा ओलीले देश बन्छ, बनाउनु पर्छ भन्ने आशा जगाउनु भएको छ । पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला कमिटीका नेताहरुसँगैं देश बनाउने संकल्प यात्राको नेतृत्व गर्नुभएको छ ।

यस संकल्प यात्राले पुराना दलहरू असफल भए भन्ने भ्रम चिर्न सफलता मिलेको छ । राजनेताको यो अभियानलाई सार्थक बनाइ राख्न अब एमालेका सबै नेता, कार्यकर्ताहरुले देश बन्छ, बन्नैपर्छ, बनाउनै पर्छ भन्ने सन्देश प्रवाह गरौं । जनताको निराशामा आशा प्रवाह गरौं । सबैले देश बनाउने संकल्प गरौं, देश बिगार्नेलाई खबरदारी गरौं । अरुको आलोचना मात्र गरेर नबसौं, सकेजतिको राष्ट्र निर्माणमा आफूले पनि योगदान गरौं । समृद्ध नेपाल : सुखी नेपाली निर्माणको अभियानमा लागौं । यो देश साँच्चीकै समृद्ध बन्नेछ, बन्छ ।

(लेखक : प्रवासी नेपाली संघ भारतका निबर्तमान महासचिब तथा नेकपा एमालेका राष्ट्रीय महाधिबेसन प्रतिनिधि परिषद सदस्य हुनुहुन्छ )