जनता टाइम्स

३ पुष २०८०, मंगलवार १६:१०

बिमानस्थलबाट हुने सुन तस्करीमा क्यानकै कर्मचारीको संलग्नता, तस्करलाई नै चावी दिएको प्रमाण भेटियो


शौचालयमा सुन छाडेर तस्करहरू विमानस्थलबाट बाहिरिने गरेको र त्यसपछि सुनलाई उपयुक्त समयमा क्यानका कर्मचारीले विमानस्थलको आपत्कालीन ढोका, छत, शव निकाल्ने ढोका हुँदै चोरबाटोबाट बाहिर निकालेर अर्को भरियाको जिम्मा लगाउने गरेको पाइएको हो

काठमाडौं, पुस ३ । सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतो रहेको तथ्य बाहिर आएको छ । तस्करी गरेर ल्याएको सुन राख्न क्यानका कर्मचारी र तस्कर समुहले विमानस्थलभित्रको अपांगमैत्री शौचालयभित्रको दराज प्रयोग गर्ने गरेको पाइएको हो ।

मिानस्थल स्रोतका क्यानका कर्मचारीहरु शेरहादुर बस्नेत, लेकबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ र रमेश देउलाले सुन तस्करसँग मिलेमतो गरी तस्करीको सुन बाहिर ल्याउने काममा संलग्नता रहेको पाइएको छ । उनीहरुले दुवइबाट सुन पठाउने भारतीय नागरिक अंकित अग्रवाल र सुन ल्याउन लगाउने मीनबहदाुर घलेको निर्देशनमा भरियाहरु चन्द्र घले, धनबहादुर गुरुङ र कृष्णकुमार श्रेष्ठलाई सघाउने गरेको पाइएको छ ।

अनुसन्धानको क्रममा उक्त दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा चावीको साँचो क्यानका कर्मचारी र अर्को साँचो सुन बोक्ने भरियाले राख्ने गरेको पाइएको छ । उनीहरूकै सेटिङमा दराजमा राखिएको अवैध रूपमा ल्याएको सुन सीटीभीटी, प्रहरी र भन्सार कर्मचारीको पहुँच बाहिरको चोरबाटोबाट क्यानकै कर्मचारीले विमानस्थल बाहिर पुर्याउने गरेको तथ्यसमेत खुलेको छ ।

गत मंसिर २१ गते मध्यरात त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद भएपछि भन्सार विभागले गरेको अनुसन्धान र छानबिनमा व्यावसायिक व्यक्तिका लागि छुट्याइएको सीआईपी कक्षको शौचालयभित्र रहेको दराजमा यसअघि पनि पटक–पटक तस्करी गरेर ल्याएको सुन लुकाउने गरेको प्रमाण भेटिएको हो ।

अनुसन्धानमा संलग्न भन्सार विभागका अधिकारीहरुका अनुसार ‘भरियाले दुबईबाट ल्याएको अवैध सुन प्लेनबाट ओर्लनेबित्तिकै सिधै शौचालय गएर उक्त दराजमा राख्ने गरेको पाइएको छ । शौचालयमा सुन छाडेर तस्करहरू विमानस्थलबाट बाहिरिने गरेको र त्यसपछि सा सुनलाई उपयुक्त समयमा क्यानका कर्मचारीले विमानस्थलको आपत्कालीन ढोका, छत, शव निकाल्ने ढोका हुँदै चोरबाटोबाट बाहिर निकालेर फेरि अर्को भरियाको जिम्मा लगाउने गरेको पाइएको हो ।

सुन ल्याउन अह्राउने, ल्याउने र विमानस्थलबाट बाहिर निकाल्ने काममा सहभागी १० जनालाई बिभागले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएपछि यो तथ्य खुलेको हो । बिभागका अनुसार दराजमा राखिएको सुन निकाल्न प्राधिकरणका ४ कर्मचारीको प्रत्यक्ष र ३ जनाको अप्रत्यक्ष रूपमा संलग्नता रहेको पाइएको छ ।

‘क्यानका कर्मचारी शेरबहादुर बस्नेतले सुनको रेकी गर्ने र लेकबहादुर तामाङले आफ्नो ड्युटीका बेला सुन निकालेर भीआईपी कक्षको बाहिरपट्टिबाट प्राधिकरणको प्रशासनिक कार्यालय नजिकको अर्को शौचालयसम्म पुर्याउने गरेको बिभागको भनाई छ । शेरबहादुर उड्डयन प्राधिकरणका सरसफाइ कर्मचारी र लेकबहादुर कार्यालय सहयोगी हुन ।

त्यही चाबीमध्ये एउटा मीनबहादुर घलेले सुन बोक्न चन्द्र घले वा कृष्णकुमार श्रेष्ठमध्ये जसलाई पठाइन्छ, उसैलाई दिने र अर्को लेकबहादुरले आफैं राख्ने गरेका पनि अनुसन्धानमा खुलेको छ । ‘लेकबहादुरले अर्को शौचालयमा पुर्याएको सुन लिन प्राधिकरणका अधिकृत राधाकृष्ण श्रेष्ठ पुगेर सुन बोकेर त्यही छेउको आपत्कालीन ढोका हुँदै विमानस्थल भवनको छतमा निस्कने गरेको अनुसन्धानको क्रममा खुलेको छ । उक्त आपत्कालीन ढोकाको चाबी राधाकृष्णले मात्र बोक्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

सरसफाइअन्तर्गतका सिनो व्यवस्थापन गर्ने कर्मचारी रमेश देउलाले फोहोर संकलन स्थलमा पुर्याइएको सुन अर्का भरिया डीबी भनिने धनबहादुर गुरुङलाई जिम्मा लगाउने गरेको तथ्य पनि अनुसन्धानको क्रममा खुलेको छ । अनुसन्धानको क्रममा भन्सार बिभागले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डे, सरसफाइकर्मी मोहन चेपाङ र कपिल ओझालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सुन तस्करीबारे छानबिन गर्न विभागले निर्देशक मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । पछिल्लो पटक मंसिर २१ गते गोरखाका चन्द्र घलेले ज्याकेटभित्रको कपडामा लुकाएर ल्याएको १४ किलो सुन भेटिएको थियो । सुन ल्याउन उनलाई गोरखाकै मीनबहादुर घलेले दुबई पठाएका थिए ।

अनुसन्धानका क्रममा चन्द्रलाई मीनले प्लेन टिकट, भिसा र दराजको चाबीसमेत दिएर दुबई पठाएको पाइएको छानबिन छ । अनुसन्धानमा संलग्न सदस्यका अनुसार दुबईमा भारतीय नागरिक अंकित अग्रवाल र गुरु भनिने एक व्यक्तिसँग मीनबहादुरको सम्पर्क रहेको देखिएको छ । यसअघि पनि दुबईबाट आएपछि चन्द्र सुन लुकाउन शौचालय छिरेको सीसीटीभी फुटेजमा देखिएको छ ।

मीनबहादुरमाथिको अनुसन्धान क्रममा स्याङ्जाका कृष्णकुमार श्रेष्ठले पनि अवैध सुन ल्याउने गरेको भेटिएको हो । उनलाई पनि मीनबहादुरले टिकट र भिसासहित दराजको चाबी दिएर दुबई पठाउने गरेको ती सदस्यले बताए । उक्त समूहले लामो समयदेखि विमानस्थलको उक्त चोरबाटो हुँदै १० वर्षदेखि सुन तस्करी गर्दै आएको हुनसक्ने अनुसन्धानले देखाएको छ ।