जनता टाइम्स

६ पुष २०८०, शुक्रबार १३:५५

पहाडको दुर्गम गाउँमा बम्जन दम्तीले फलाए १८६ मुरी धान, जनप्रतिनिधिदेखि पत्रकारसम्मले गरे उच्च सम्मान


पाँचथर, पुस ६ । मेहनत गरेर आफ्नै गाउँमा सम्मानित हुनुको मजा नै बेग्दै हुन्छ । त्यो आनन्नको अनुभुति बिरलैले गर्न पाउँछन । यस्तै बिरलैमध्ये एक बन्नुभएको छ, पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाका किसान मकरबहादुर बम्जन (तामाङ) र टीकामाया बम्जन । उहाँहरुलाई कामको कदर गर्दै स्थानीयले फूलमालासहित बोकेर घुमाउँदै सम्मान गरेका छन ।

बम्जन दम्पतीको खलोमा बुधबार स्थानीयको घुइँचो थियो । गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधि र कर्मचारी पनि खलोमै थिए । धान बताइसकेर लगाइएको रासछेउमा किसान मकरबहादुर र टीकामाया सवैको आँखाको नानी बनेर बस्नुभएको थियो । जसले आफ्नो खेतमा १६८ मुरी धान फलाउनु भएको थियो ।

उहाँहरुको मेहनतको फल देखेर उपस्थित सवै स्थानीय भन्दै थिए, ‘तामाङ बूढाबूढीले धेरै अन्न फलाउन जमिनदार नै हुनुपर्छ भन्ने कुरालाई गलत साबित गरिदिए, पाखुरा बजार्ने हो भने गाउँमै गरिखान सकिन्छ भन्ने पनि देखाए ।’ स्थानीयले यसो नभनून् पनि किन, परिवारमा श्रीमान/श्रीमती र ८० वर्षीया बूढी आमा मात्रै भए पनि उहाँहरूले आफ्नै २ रोपनी र अधियाँ तथा कुतमा खेत लिएर १ सय ६८ मुरी धान फलाउनु भयो ।

गाउँपालिकाले यस वर्षदेखि सय मुरीभन्दा धेरै धान फलाउनेलाई ५० हजार र ५० मुरीभन्दा बढी फलाउनेलाई ३० हजार रुपैयाँ दिएर पुरस्कृत गर्ने योजना ल्याएको थियो । यही पुरस्कारको कारण ५५ वर्षीय मकरबहादुर र ५९ वर्षीया टीकामायाले १ सय ८५ मुरी धान फलाएको दाबीसहित निवेदन दिनुभयो । निवेदनपछि जनप्रतिनिधि र कर्मचारीले माना–पाथी र तराजु बोकेर उहाँको खेतमै नापजाँचमा पुगे ।

गाउँपालिकाको योजना तथा प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीले तामाङ दम्पतीले फलाएको धान पाथीले भर्दा ३ हजार ३ सय ६० पाथी (१ सय ६८ मुरी) र किलोमा जोख्दा ८ हजार ४ सय किलो भएको जानकारी दिनुभयो ।

मकरबहादुरले नवमीडाँडा, फाल्गुनन्द–७ को काब्रेती, खलासाइले, घरमुनि, करमबोटे र सिस्ने गरी ५ वटा बेंसीमा ३ मुरी ४ पाथी (६४ पाथी) बीउ रोप्नुभएको थियो । उहाँका अनुसार सबै खेतमा बाँझो जोत्न मात्र ३८ हल गोरु र ३८ जना हली प्रयोग गरिएको थियो, भने रोपाइँमा ३० हल गोरुसहित बाउसे, रोपाहार, ब्याडे र कोदाले गरी डेढ सय हाराहारीमा जनशक्ति लागेको थियो ।

फाल्गुनन्द गाउँपालिकाले बसाइँसराइको क्रम तीव्र भएसँगै गाउँघरका खेत बाँझै हुन थालेपछि किसानलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गरेको हो । त्यसो त मकरबहादुरकै ५ सन्तान पनि अहिले गाउँमा छैनन । २ छोरी बिहे गरेर घर गए भने तीन छोरा झापाको दमकमा बस्दै आएका छन ।

पत्नी टीकामायाका अनुसार साथीभाइ गुहार्दै धान रोप्छौं । घाँस काट्नदेखि जाँड छान्नसम्म खेताला लगाएर मेलो उकास्ने गरिएको छ । बिस्तारै मानिसले थातथलो छोड्न थालेपछि खेतीयोग्य जमिन बाँझिँदै गएको टीकामायाले सुनाउनु भयो । आफूहरुले नगद कमाइका अलावा २ हल गोरु, २ माउ भैंसीसहित ८ वटा बस्तुलाई वर्षभरि खुवाएर १ लाख रुपैयाँ पराल बेचेरै आम्दानी गर्ने गरेको पनि उहाँले सुनाउनु भयो ।

गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले पहाडको दुर्गम भेगमा एउटै परिवारले १ सय ६८ मुरी धान फलाएको सुन्दा सुरुमा त आफूहरू चकित परेको बताउनु भयो । ‘खेतमै पुगेर तौलेपछि मात्रै पत्यार भयो,’ उहाँले भन्नुभयो । स्थानीय तहका जनप्रतिनिधिहरू तामाङको खलामा आउनुभन्दा एक साताअघि फाल्गुनन्द–७ का गणेशकुमार चेम्जोङको खलामा धान जोख्न पुगेका थिए । चेम्जोङको खलामा भने १ सय २१ मुरी धान पुगेको थियो ।

अध्यक्ष आङदेम्बेले यस वर्ष ४२ जना किसानले ५० मुरीभन्दा धेरै धान फलाएको भन्दै निवेदन दिएको र तीमध्ये २८ जनाले ५० मुरीभन्दा धेरै र २ जनाले १ सय मुरीभन्दा धेरै धान फलाएको पुष्टि भएको बताउनु भयो ।

किसान मकरबहादुरका अनुसार अधियाँ लिएर खेतीपाती गर्दा जति फलेको हो, आधा–आधा बाँड्नुपर्ने र कुतमा भने उत्पादनको तीन भागको एक भाग मात्रै आफूलाई आउँछ । उहाँले अहिले धान बेचेरै बर्षमा तीन लाख रुपैयाँ कमाइ हुन गरेको जानकारी पनि दिनुभयो ।

तस्विर सौजन्य : खबिन लुईंटेल/पाँचथर