काठमाडौं , पुस ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कसैले चाहेर लोकतन्त्रको जग हल्लाउन नसक्ने बताउनुभएको छ ।
नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र जोगाउन नागरिकले जस्तो सुकै त्याग र बलिदान गर्ने बताउनुभयो ।
‘लोकतन्त्र प्रति जनता आश्वस्त छ, विश्वस्त छ, लोकतन्त्र प्रति जनताको असाधारण विश्वास छ, लोकतन्त्र जोगाउनका निम्ति जनता जे सुकै गर्न पनि तयार छ’, उहाँले भन्नुभयो ।
यात्राको माध्यमबाट नेकपा एमालेले राष्ट्रिय एकता जगाउने र लोकतन्त्रलाई थप सुदृढ गराउने काम गरेको ओलीले बताउनुभयो । जनताको बिचमा जाने र जनताको कुरा सुन्ने हिसाबले पनि यात्रा महत्त्वपूर्ण रहेको ओलीले बताउनुभयो ।
जनसङ्ख्या र भूगोलको हिसाबले ठुलो हिस्सा ओगटेको मध्य पहाडमा अहिलेकै अवस्था रहने हो भने देश समस्यामा पर्छ भन्ने सोचका साथ त्यहाँका नागरिकमा आशा जगाउन यात्रा गरिएको ओलीले बताउनुभयो । यात्राका क्रममा समस्या पहिचान र सम्भावना प्रकट भएका ओलीले प्रष्ट पार्नुभयो ।
बसाइसराइ र युवा विदेश जाने क्रमलाई रोक्नु आजको मुख्य विषय भएको ओलीले बताउनुभयो । त्यस विषयमा यात्राको क्रममा निक्कै गहन छलफल भएको उहाँले सुनाउनुभयो । आगामी दिनमा सही नीति निर्माणको लागि ती छलफल कामयाबी रहने ओलीले बताउनुभयो । आम जनताको साथ सहयोगले यात्रा निक्कै सफल भएको ओलीले बताउनुभयो ।
वर्तमान गठबन्धन सरकारको कारण देश गलत बाटोमा गइरहेको ओलीले बताउनुभयो ।
देशमा धेरै समस्या भएका भर्खरै एनसीएलको स्वामित्व किनबेचको विषय निक्कै गम्भीर विषय भएको उहाँको भनाई छ । खरबौँको सम्पत्ति करोडमा कारोबार गर्ने कुरालाई कुनै पनि हालतमा सही स्विकार्न नसकिने ओलीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्