जनता टाइम्स

१ आश्विन २०७६, बुधबार २०:०५

यी हुन समृद्ध नेपाल निर्माण गरी जनतालाई दुःखबाट मुक्त गराउने प्रधानमन्त्री ओलीका तीन आधार


काठमाडौं, असोज १ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई सार्थक बनाएर जनतालाई दुःखबाट मुक्त गराउने तीन आधार प्रस्तुत गर्नुभएको छ ।

सिंगापुरमा स्वास्थ्य उपचार गरी फर्कैपछि पहिलो पटक सिंहदरवार र बालुवाटार बाहिर सार्वजनिक कार्यक्रममा आज सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले विद्धान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउने आफ्नो योजना राख्नुभएको हो । सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले जनताको दुःख मेटन अघि बढाएको योजना राख्नुभयो ।

‘नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन, तीन वटा कारण छन, जसले नेपाल पछाडि पर्नुपर्ने आवश्यक्ता नै छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी विद्धान पुर्खाका सन्तान हौं, विद्धान र वीर पुर्खाका सन्तानको जीन हामीसँग छ । दोस्रो, प्राकृतिक हिसावले हाम्रो देश सुन्दर मात्रै होइन, अत्यन्तै स्रोत सम्पन्न छ, प्राकृतिक हिसाबले धनी छ । अर्को, अहिले पनि हामीसँग क्रियाशील युवा जनसंख्या ठूलो छ । त्यसकारण नेपाली जनतालाई यी तीन वटै स्रोतको माध्यामबाट विकास गरेर दुःख पाईरहनुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ, बर्तमान सरकार यही काममा लागेको छ ।’

उहाँले विज्ञान र प्रविधिको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउने आधार र अवसर नेपालसँग भरपुर रहेको तथ्य पनि खुलाउनुभयो । भारतको मोतीयारीबाट अमलेखगंजसम्म पाईपलाईनमा पेट्रोलियम पदार्थ ल्याउन सम्भव भएको दृष्टान्त पेश गर्दै प्रधानमन्त्री ओलीले त्यसरी नै विज्ञान र प्रविधिको उपयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने आधार सुनाउनु भयो । मुलुकको उत्पादनलाई प्रविधिसँग जोडने गरी काम गर्न युवाहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसको लागि आवश्यक सबै सहयोग सरकारले उपलब्ध गराउने प्रतिवद्धता पनि जनाउनुभयो ।

सरकारले वैज्ञानिक तथा विज्ञान र प्रविधिसँग सरोकार राख्ने सबै समूहमा उत्साह वृद्धि गर्ने उद्देश्यका साथ विज्ञान शिक्षामा योगदान पुर्याउने काठमाडौंको ठमेलस्थित अमृत साईन्स क्याम्पसको स्थापनाको अवसर पारेर हरेक वर्ष असोज १ गते राष्ट्रिय दिवसको रुपमा मनाउन सुरु गरेको हो । सोही अवसरमा प्रधानमन्त्रीले समृद्धिको आधार राख्नुभएको हो ।