दुइवटा कुखुराका भाले र छ्यानमा लड्न थाले । एउटा भाले अर्को भालेभन्दा बलियो थियो र अर्को भालेलाई पछार्यो । पोथीहरूले विजयी भालेलाई घेरे, बधाइ दिए । उसलाई आफ्नो साहस र सम्मान सबैलाई जानकारी दिन मनलाग्यो । ऊ तुरुन्तै छानामा चढ्यो । पखेटा फर्फरायो, ठूलो स्वरमा करायो- ‘सबैले मतिर हेर, म विजयी भाले हुँ । यो संसारमा म जति बलियो कोही छैन ।‘ उसले यति के भनेको थियो, चीलले उसलाई झम्ट्यो, मार्यो र आफ्नो गुँडतिर लग्यो । माधव नेपालको अहिलेको फूर्तिफार्ती उही ‘विजयी भाले’को फूर्तिफार्ती भन्दा भिन्न छैन
निर्मल भट्टराई
देशी-विदेशी षणयन्त्रमा नेपालको कम्युनिष्ट आन्दोलनको मूलप्रवाह नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई चोइट्याएर अस्तित्वमा आएको नेकपा (एकीकृत समाजवादी) नामक माधव-झलनाथ समूहको केन्द्रिय कमिटीको वैठक ललितपुरमा शुरू भएको छ । बैठक शुरू गर्दै समूह प्रमुख माधव नेपालले उक्त समूह नै नेपालको कम्युनिष्ट आन्दोलनको मूलप्रवाह हो भन्ने हावादारी गफ दिएका छन ।
हुन त गठबन्धनमा सामेल केही नेतालाई लाग्छ, हामीले जे बोले पनि हुन्छ, सरकार जसरी चलाए पनि हुन्छ । माधवलाई पनि लागेको होला, नेपालको कम्युनिष्ट आन्दोलनको मुख्य नेता मैं हुँ । करिव डेढ दशक एमालेको महासचिव बनेको धङ्धङी अझै बाँकी होला । भनिएको छ- मानिस चार प्रकारका हुन्छन । कोही चिनीजस्ता । सबैको अगाडि मिठो बोल्ने । परोक्ष कार्य हन्तारं प्रत्यक्ष प्रिय बादिनिम । बोलिबाट सबैलाई रिझाउन खोज्ने । कोही मरिचजस्ता । जतिखेर पनि मरिच जस्तै पीरो कुरा गर्ने । कोही नुन जस्ता । भित्रभित्रै स्वाद भर्ने तर बाहिर जस लिन नखोज्ने । र, कोही बेसारजस्ता । केवल रङ भर्ने । जस जति आफू लिन खोज्ने ।
सबैलाई थाहा छ, माधव नेपालको चरित्र बेसारे चरित्र हो । कहिले कहीं यिनी एमाले नै मैले बनाएको पार्टी हो भन्छन । कहिले यिनी माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने १२ बुँदे सहमतिको सूत्रधार आफैं भएको डिङ हाक्छन । गिरिजा जीवित हुन्ज्याल गिरिजालाई माधव नेपालले मात्र मनाउन सक्छ भन्थे । वर्तमान गठबन्धन बनाउने मुख्य पात्र मैं हुँ भन्ने थेगो अझै उनको जिब्रोबाट हटेको छैन। कथित समाजवादी मोर्चा त उनकै देन भइहाल्यो ! बेसारजस्तो रङ भर्न सिपालु छन माधव नेपाल ।
यो समूहले एक्लै चुनाव लड्नु पर्यो भने कहीं जमानत जोगाउन सक्दैन । गत निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेको प्रमाण यहाँ पेस गरिरहनु नपर्ला । धेरै जिल्लामा यो समूहको अस्तित्व नामेट भएको छ । हिजो भूलवश त्यो समूहमा लागेका नेता-कार्यकर्ता एमालेमा फर्कने अभियान रोकिएको छैन । एमालेले हालसालै चलाएको सङ्कल्प यात्राको क्रममा बैतडीलगायत धेरै मध्यपहाडी जिल्लामा यो समूहको अस्तित्व समाप्त भएको छ । संगठनको हालत यो छ भने विचारमा यो समूह टाट पल्टेको अवस्थामा छ ।
आफ्नो कार्यालयका भित्ताहरूमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको फोटो राखे पनि ती महान कम्युनिष्ट नेताको विचारको त्यो समूहले खिल्ली उडाएको छ । केही थान मन्त्री र सांसद पदको लागि निरन्तर दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिको पुजा-अर्चना गर्ने, प्रमुख देशभक्त शक्ति नेकपा (एमाले) विरूध्द घेराबन्दी र षणयन्त्र गर्ने, एमालेले लिएको विचार भन्दा देउबा र कांग्रेसको विचारलाई क्रान्तिकारी देख्ने, ललिता निवास प्रकरणमा आफू बच्न जोसुकैसँग जस्तोसुकै सम्झौता गर्न पनि पछि नपर्ने यो समूहको वैचारिक धरातल र सातलमा पुगिसकेको छ ।
माधव नेपाल र उनको समूहको चर्चा गर्दा नामी रसियन साहित्यकार लियोटोल्स्टोयको नीति कथा स्मरण हुन्छ । दुइवटा कुखुराका भाले र छ्यानमा लड्न थाले । एउटा भाले अर्को भालेभन्दा बलियो थियो र अर्को भालेलाई पछार्यो । पोथीहरूले विजयी भालेलाई घेरे, बधाइ दिए । उसलाई आफ्नो साहस र सम्मान सबैलाई जानकारी दिन मनलाग्यो । ऊ तुरुन्तै छानामा चढ्यो । पखेटा फर्फरायो, ठूलो स्वरमा करायो- ‘सबैले मतिर हेर, म विजयी भाले हुँ । यो संसारमा म जति बलियो कोही छैन ।‘ उसले यति के भनेको थियो, चीलले उसलाई झम्ट्यो, मार्यो र आफ्नो गुँडतिर लग्यो । माधव नेपालको अहिलेको फूर्तिफार्ती उही ‘विजयी भाले’को फूर्तिफार्ती भन्दा भिन्न छैन ।
गठबन्धनको जनविरोधी नीति, स्वार्थ प्रेरित भागबण्डा, सरकारको दिशाहीनता, अकर्मण्यता र कुशासनको कारण नेपालको प्रमुख राष्ट्रिय शक्ति नेकपा (एमाले) प्रति नेपाली जनताको भरोसा बढ्दै गएको छ । यसको पछिल्लो उदाहरण एमालेले सञ्चालन गरेको मध्यपहाडी समृध्दिको लागि सङ्कल्प यात्रामा जनताको अपार सहभागिताले पुष्टि गरेको छ । एमाले पार्टी र यसको मूल नेतृत्वप्रति जनताले देखाएको सम्मान, सहयोग र सद्भावबारे माधव नेपाल पनि बेखबर त नहुनु पर्ने हो ।
जनताबाट अलग-थलग भइसक्दा पनि, विभाजनको औचित्य कतैबाट पुष्टि गर्न नसक्दा पनि र दक्षिणपन्थलाई हदैसम्म धूपध्वार गर्दा पनि पार नलागेको अवस्थामा आफ्नो समूह नेपालको कम्युनिष्ट आन्दोलनको उत्तराधिकारी बन्ने माधव नेपालको कल्पना मृगमरीचिका जस्तै हो । हावा फुस्केको भकुण्डोले विश्वकप जित्छु भन्नु जस्तै हो ।













प्रतिक्रिया दिनुहोस्