जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार ०९:०८

बाढी र पहिरोले खोटाङका सबै यातायात सेवा अवरुद्ध


खोटाङ, असोज २ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौं तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि खोटाङको यातायात सेवा अवरुद्ध भएको हो ।

मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताउनु भयो । ‘काठमाडौंबाट मङ्गलबार बेलुका छुटेको सबै सवारी साधन सिन्धुली जिल्लाको खाङ्साङबेसीमा रोकिएको छ,’ उहाँले भन्नुभयो, ‘भलबाढी र पहिरोका कारण गाडी रोकिएपछि हजारौं यात्रु बीच सडकमै अलपत्र परेका छन् । तत्काल पहिरो हटाएर बिच सडकमा अलपत्र बनेका यात्रुको उद्धार गर्न सम्बन्धित निकायले पहल थाल्नुपर्ने अवस्था आएको छ ।’

दशैंको मुखमा यातायात सेवा अवरुद्ध भएपछि खोटाङबाट राजधानी तथा तराईका जिल्ला आवतजावत गर्ने यात्रुलाई सबैभन्दा बढी समस्या भएको छ । जिल्लामा सञ्चालित यातायात सेवा अवरुद्धले दैनिक उपभोग्यवस्तु अभाव हुने सम्भावना देखिएको छ ।