जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार ०९:५३

झापाको सभालाई उपप्रधानमन्त्री पोखरेलले सम्वोधन गर्ने


झापा, असोज २

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले संविधान दिवसको अवसरमा आयोजना गरेको जनसभालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने हुनुभएको छ।

नेकपा झापाको प्रचार बिभागले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार असोज ३ गते आयोजना गरिएको सभालाई नेकपा सचिवालय सदस्य समेत रहनु भएका पोखरेलले सम्वोधन गर्नुहुनेछ । उहासँगै स्थायी कमिटी सदस्य तथा प्रदेश–१ का पार्टी इन्चार्ज भिम आचार्य, केन्द्रीय कमिटी सदस्य तथा प्रदेश–१ का अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य राम कार्की लगायतका केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने नेकपा झापा पार्टीका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो।

जनसभा अघि ११ बजे बिर्तामोड प्रवेश गरिसक्ने र११.३० बजेबाट र्याली शुरु गरि कार्यक्रम स्थल पुरानो इलाम स्टेनमा जाने बताइएको छ । सोही दिन साँझ झापा जिल्लाभर स्थानीय चोकहरुमा दिपावली गर्न पनि निर्देशन दिइएको छ ।
पाठकले संविधान दिवस आम नेपालीको उत्सबको दिन भएकाले सबैलाई उपस्थितिको लागि आव्हान पनि गर्नुभएको छ।

सडकमा संविधान बिरोधी गतिबिधि बढ्दै गएकोले त्यसको खबरदारी गर्न पनि यो कार्यक्रम आयोजना गरिएको उहाको भनाई छ । संविधान निर्माणको नेतृत्वकर्ता दलको हैसियतले यसको कार्यान्वयन र रक्षा गर्नु दायित्व रहेको भन्दै नेकपाले जिल्लाभरबाट हजारौंको संख्यामा जनसहभागिता गराउदै जनसभाको आयोजना गर्न लागिएको उहाले जानकारी गराउनु भयो ।