जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १०:३१

संविधानअन्तर्गत मन्त्री बनेका प्रदेशमन्त्री नै संविधानको विरोधमा उत्रिएपछि


राजविराज, असोज २

संविधानले नेपालको संघीयतालाई अंगिकार गरेको छ । विभिन्न सात प्रदेश, त्यहाका रहेका सरकार र मन्त्रीका विषयमा स्पष्ट उल्लेख छ । सोही संविधान अन्तर्गत बनेको सरकारमा सहभागी छ, राष्ट्रिय जनता पार्टी नेपाल ।

मन्त्री बन्नका लागि संविधान बाधक नबनेको राजपाका लागि संविधान दिवस भने कालो दिनका रुपमा मान्दछ । उनिहरुले संविधान दिवसको विरोधमा सप्तरीमा प्रदर्शन गरेका छन् । सबैभन्दा अचम्म त के छ भने सोही संविधानमा टेकेर सरकारी झण्डा हल्लाउदै हिडेका मन्त्री नै सोही संविधानको विरोधमा उत्रिएका छन् । बिहीबार बिहानदेखि नै राजविराजस्थित गजेन्द्र चोकमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहसहित जिल्लाका स्थानीय तहमा राजपाबाट निर्वाचित जनप्रतिनिधिहरु र कार्यकर्ताहरुले कालो झन्डा प्रदर्शन गरेका छन् ।

गजेन्द्रनारायण सिंहको सालिक परिसरलाई सरसफाई गरेपछि उनीहरु संविधानविरुद्ध नाराबाजीमा उत्रिएका थिए । प्रदर्शनमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, जिल्ला समन्वय समिति सदस्यहरु, विभिन्न गाउँपालिका र नगरपालिकाका वडा सदस्यहरुसहित राजपाका केन्द्रीय, प्रदेश र स्थानीय तहका कार्यकर्ताहरु सहभागी रहेका थिए । स्थानीयले कतिपयले भने खान पाउदा संविधान बाधक नबन्ने र राजनीतिक ‘स्टन्ड’का लागि संविधानको विरोध गर्नु राजनीतिक नाटकमात्र भएको प्रतिक्रिया दिएका छन् ।